औषधी पसल र स्वास्थ्य प्रयोगशाला क्षेत्रमा अनेक विकृति र लापरवाही भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीबाट खटिएको टोलीले अनुगमन सुरु गरेको छ । टोलीले पोखराको महेन्द्रपुलमा रहेका २ प्याथोलोजी ल्याबमा बिहीबार सिलबन्दी गरेको छ । ती ल्याबमा प्रयोग भएका विभिन्न औषधी म्याद गुज्रिएका र ल्याब सञ्चालनको स्वकृति पत्र पनि नभएको पाएपछि ती ल्याबमा ताला लगाइएको हे ।
पोखरा प्याथोलोजी क्लिनिकले म्याद सकिएको सामग्रीको प्रयोग गरेको भेटिए । यो ल्याबले स्वीकृति पनि नलिएको टोलीले फेला पारेको छ ।
२०६४ सालदेखि यो ल्याब सञ्चालनमा छ । ल्याबमा प्रयोग गरिने केमिकल लगायतका ७ प्रकारका औषधीको म्याद सकिएको भेटिएको छ । टोलीले लाइफ चेक प्याथोलोजीले म्याद सकिएका सामग्री प्रयोग गरेको भेटेपछि टोलीले यसमा पनि ताला लगाएको छ । लाइफ चेकले पनि आवश्यक कागजात अनुगमन टोलीलाई देखाउन सकेन ।
अनुगमन टोलीले बिहीबारै महेन्द्रपुलको आयुष फार्मेसीमा पनि म्याद सकिएको औषधी फेला पारेको छ । यो फार्मेसीका सञ्चालकलाई टोलीले १० दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीका उपस्थित हुन निर्देशन दिएको छ ।




