कैलाश बैंकका ग्राहक र कर्मचारीलाई मेडिसिटीमा छुट

कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौतापछि नेपाल मेडिसिटी अस्पतालले कैलाश बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहकवर्ग तथा कर्मचारीलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी सबै उपचार सेवा नेपालमै सम्भव गराउने उद्देश्यका साथ स्थापना भएको हो । मेडिसिटीले विभिन्न संघ, संस्थासँग उपचारमा छुट दिने सम्झौता र विशेष छुटका प्याकेज पनि बेला बेलामा ल्याउने गरेको छ ।

८५ वटा शाखामार्फत सेवा दिँदै आएको कैलश विकास बैंकले ३१ एटिएम संख्याबाट सेवा दिँदै आएको छ । काठमाडांैका विभिन्न ४ स्थान लगायत देशका विभिन्न क्षेत्रमा नयाँ शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बंैकले जनाएको छ ।