श्वासप्रश्वास रोगकै उपचार नहुने श्वासप्रश्वास केन्द्र

तनहुँको शुक्लागण्डकी ५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र स्थापना भएको ८ वर्ष पुग्यो । निजी अस्पतालले स्थापनापछि नाफा कमाउने बेलासम्म यहाँ भने हालसम्म पनि श्वासप्रश्वास सम्बन्धी युनिट स्थापना हुनै सकेको छैन ।

यहाँ आएका श्वासप्रश्वाससम्बन्धी बिरामी भने पोखरा र काठमाडौं जान बाध्य छन् । अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले श्वासप्रश्वाससम्बन्धी डट्स सेन्टर स्थापना गर्ने तयारी भइरहेको बताए । क्षयरोगको बिरामी उपचार गर्ने लक्ष्यका साथ राष्ट्रिय क्षयरोग केन्द्रसँगको कागजी प्रक्रिया सकिएको र केही हप्तामा डट्स सेन्टर स्थापना हुने उनको भनाइ छ ।

हालसम्म संघीय सरकार मातहतमा रहेको यो अस्पताल प्रदेश मातहतमा राख्ने निर्णय भएपछि कांग्रेसले यही मुद्धा उठाएर सदन अवरुद्ध गरेको छ । संसदमा उठेको विषय र सञ्चारमाध्यममा आएका समाचारका कारण बिरामीको संख्या भने बढेको छ ।

अस्पतालमा हाल ३ स्थायी चिकित्सक काजमा कार्यरत छन् । ५७ जना प्राविधिक र प्रशासनका कर्मचारी करारमा रहेको अस्पतालले जनाएको छ । २०६७ सालमा पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय स्तरकै श्वासप्रश्वास उपचार केन्द्र तनहँुमा स्थापना गर्ने निर्णय गरेको थियो । यसअघि समुदायस्तरबाट सञ्चालित सेती गंगा सामुदायिक अस्पताललाई २०७२ श्रावणदेखि जिपीको नामबाट स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेतीगंगाको २ सय रोपनी जग्गामा ५ सय थप गरी हाल ७ सय रोपनी जग्गा जिपीको नाममा छ ।

यता मन्त्रिपरिषदको गत असार २० गतेको निर्णय अनुसार बोर्ड समिति खारेज भएसँगै हाल अस्पताल पदाधिकारीविहीन छ । ११ सदस्यीय बोर्डमा सदस्य सचिव कार्यकारी निर्देशक रहने व्यवस्था थियो ।