होमस्टे, होटल र क्यानोनिङ्ग को आम्दानी रकम स्वास्थ्यमा

कास्की जिल्ला माछापुच्छ्रे गाँउपालिका ८ नं. वडामा रहेको ल्वाङ्ग होमस्टेले आफ्नो मासिक कमाईको ३ प्रतिशत रकम गाँउकै स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा खर्च गर्ने भएको छ । यहि मिति २०७५ माघ ५ गते बसेको गाँउ भेला र तत पश्चात होमस्टेको आकस्मिक बैठकबाट उक्त निर्णय गरिएको होमस्टे ब्यबस्थापन समितिका अध्यक्ष हिमकुमारी गुरुङ्गले जानकारी दिनुभयो । त्यस्तै होमस्टेको निर्णय लगत्तै उक्त स्थानमा रहेका होटल र क्यानोनिङ्ग व्यवसाय सञ्चालक बोनि गुरुङ्गले पनि आफूहरु पनि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न तयार रहेको भन्दै समर्थन जनाउनुभएको छ ।

उक्त स्थानमा नौलो घुम्ती नेपालको करिब ६७ प्रतिशत ८ नंं वडा कार्यालयको २५ प्रतिशत र स्थानीय जनश्रमदान करिब ८ प्रतिशत गरि भवन तथा अन्य भौतिक पूर्वाधार निर्माण गरिएको छ । २०७६ बैशाखमा सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन तयारी भइरहेको ल्वाङ्गघलेल स्वास्थ्य चौकीका कर्मचारीले बताउनुभयो । स्वास्थ्य इकाई सञ्चालनमा आएपछि स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई प्राथमिक स्वास्थ्य सेवा लिन सहज हुने नौलो घुम्ती नेपालका पब्लिक हेल्थ असिस्टेन्ट सुनिल सुवेदीले बताउनुभयो ।

त्यस्तै ८ नं. वडाका वडा अध्यक्ष कृष्णप्रसाद दबाडीले यसअघि वडाका स्वास्थ्य संस्था नहुँदा समस्या भएको र आगामि दिनमा प्राथमिक उपचार र प्रसुति सेवा उपलब्ध गराउनका लागि आवश्यक व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । उक्त कार्यक्रमको अग्रसरता स्थानिय महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य चौकी र वडा कार्यालयले संयुक्त रुपमा गरेका थिए । सबैको उत्साहजनक सहभागिता र हौसलाले उक्त सेवा प्रवाहमा लाग्न थप उर्जा मिलेको स्वास्थ्य चौकीका कर्मचारीद्वय आनन्द बराल र दिपक शर्माले बताउनुभयो ।