प्रहरीलाई कारबाही माग गर्दै हस्ताक्षर संकलन

बागलुङको गलकोटमा प्रहरीद्वारा भएको कुटपिटविरुद्ध कारबाही माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन चलाइएको छ । नागरिक दबाव समितिले पुस २९ गते राति भएको घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न दबाव स्वरुप हस्ताक्षर संकलन गरेको हो ।

गलकोट नगरपालिका सबै वडा अध्यक्षसँग छलफल गरेको नागरिक दबाव समितिले सबै वडामा एकैसाथ कार्यक्रम सञ्चालन गरेको समूहका सदस्य हर्कबहादुर पाण्डेले जानकारी दिए । गलकोट हटिया प्रतीक्षालयमा कपडा र कापीमा नाम ठेगानासहित हस्ताक्षर संकलन सुरुआत गर्दै समितिका संयोजक तिलक उप्रेतीले जनताले आफ्नो सुरक्षाको लागि हस्ताक्षर गरी पीडित बस्नेतलाई न्याय दिन दबाव दिनुपर्ने बताए ।

गलकोट ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले घटनामा आरोपी प्रहरीलाई कारबाही गर्न र आगामी दिनमा पनि यस्ता खालका गतिविधि नहोस् भनेर सचेत बनाउनको लागि हस्ताक्षर अभियान उपयुक्त भएको बताए ।

माघ १० गतेसम्म हस्ताक्षर संकलन गर्ने र गृहमन्त्रालयमा बुझाउने समूहले जनाएको छ । प्रहरी जवान प्रेम विष्ट र बुद्धबहादुर थापाको कुटपिटबाट गलकोट ६ का सोम बस्नेत गम्भीर घाइते भएका थिए । घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

नागरिक दबाव समूह र इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाबीच छलफल भएको छ । छलफलमा आरोपित प्रहरी बिष्ट र थापाले थप २ लाख रकम उपलब्ध गराएको र विभागीय कारबाही अघि बढेको बताइएको छ ।