प्रगतिशील लेखक संघ कास्की अध्यक्ष भीम रानाभाट ज्यालादारीलाई मातृशोक परेको छ । भीमकी आमा बाटुलीदेवीको ९२ वर्षमा आइतबार बिहान निवासमै निधन भयो । उनको जन्म विस १९८३ मा भएको थियो ।
बाटुलीदेवीको आइतबारै सेती नदीमा अन्त्येष्टि गरिएको छ । उनका ६ छोरा र २ छोरी छन् । बाटुलीका श्रीमान पूर्णबहादुरको यसअघि नै निधन भइसकेको छ ।
साहित्यकार रानाभाटले आमाको अन्तिम संस्कार ७ दिनमा नै सक्ने बताए । उनले बुबा पूर्णबहादुरको निधन हुँदा पनि परम्परागत तवरले अन्तिम संस्कार गरेका थिएनन् । १३ दिनसम्म गरिने अन्तिम संस्कार बोझिलो, खर्चालु र असामयिक भएको आवाज उठे पनि यसलाई धेरैले चिर्न सक्दैनन् । भीम भन्छन्, आमालाई जे सक्थे, बाच्दै गरें । मेरी आमा गुमाउँदा मलाई अरु भन्दा कम पीर परेको छैन तर आडम्बरपूर्ण यो संस्कारलाई परिवर्तन गर्नैपर्छ ।
भीम र उनकी श्रीमती शान्ति चप्पल लगाएरै रामघाट पुगे, कपाल मुन्डन गरेनन् । उनीहरु बसेको कोठमा पनि कोरा बारिएको छैन । ७ दिनसम्म सादगी खाना खाएर सामान्य कपडा लगाएर घरमै बसी आमाको सम्झना गर्ने उनले बताए ।




