बम दिदी,बहिनी ज्यानको सुरक्षा माग्दै काठमाडौंमा

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनामा मुछिएका बम दिदी बहिनी बबिता र रोशनी ज्यानको सुरक्षा माग्दै काठमाडौं आइपुगेका छन् ।

लगातारको धम्कीका कारण घरमा बस्न सक्ने स्थिति नभएको भन्दै उनीहरुले सरकारसँग ज्यूँ ज्यानको सुरक्षाको माग गरेका छन् । मानव अधिकारकर्मीहरुले समेत आफूहरुलाई धम्की दिएको बताउँदै उनीहरु भन्छन्, ‘हामी ज्यूँदो निर्मला हौं, हाम्रो समस्या बुझ्ने र न्याय दिने कोही भएन ।’

प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेको छैन । तर पनि बम दिदी–बहिनीमाथि कार्वाही गर्नुपर्छ भन्नेहरुको स्वर अहिले पनि उस्तै छ । अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् ।

बम दिदी बहिनीले ज्यानको सुरक्षा हुन नसकेपछि राज्यसँग गुहार्न काठमाडौं आएको बताएका छन् । निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको भनाइ छ ।

‘हाम्रो चरित्र हत्या गर्ने र बारम्बार धम्की दिने काम आफूलाई महिला अधिकारकर्मी भन्ने राजनीतिक दलका दुई नेतृ र एक स्थानीय पत्रकारले दिएका छन् । काठमाडौंबाट आउने मानवअधिकारवादी र महिला अधिकारकर्मीले पनि उनीहरुले जे भन्छन्, त्यहि सही मानेर लेखे । हाम्रो टोल छिमेकमा आएर हाम्रोबारे बुझ्न चाहेनन् वा बुझेर पनि लेख्न चाहेनन्,’ बम दिदी बहिनीले भने, ‘यिनीहरुले हामीलाई जिउँदै मारेका छन् ।’

हत्या जस्तो आरोप खेप्नु पर्दा आफूहरुको घर व्यवहार नै लथालिङ्ग भएको उनीहरु बताउँछन् ।
१४ वर्षीया रोशनी साउन १० गते निर्मलाको शब भेटिएको दिनदेखि आफू खुलेर हाँस्न नसकेको बताउँछिन् । ‘हाम्रा त चरित्रहत्या भया छ । दोषी हउँ कि निर्दोष हउँ साबित गर्न काठमाडौं आया होइन, त्यो काम काननुको हो । तर, हामीलाई त मिडिया र युट्युबरले अपराधी बनाई दिया, मानव अधिकारवादीले बेश्या बनाई दिया । निर्मला त मरिगइन्, हामी जिउँदो निर्मला भया छौं,’ रोशनीले एकै सासमा यति कुरा भनिन् ।

साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं आएका हुन् । यो उनीहरुको पहिलो काठमाडौं यात्रा हो । उनीहरुले मिना भण्डारी र शारदा चन्दको नामै लिएर भने, ‘कन्चनपुरका केही मानवअधिकारकर्मी तथा नेतृहरुको निरन्तर धाकधम्कीका कारण असुरक्षित भयौं । त्यसैले काठमाडौं आउनुपरेको हो ।’

उनीहरु भन्छन्, ‘हिजो डिल्लीराज विष्टले हामीलाई जोगाएको भने पनि आज प्रहरीका सात टोलीले अनुसन्धान गरिसकेका छन् । यदि हामी दोषी भए राज्यले कार्वाही गरोस् । होइन भने महिला अधिकारवादीले काठमाडौं आउँदा समेत धम्की दिइरहेका छन् । यहाँ पनि हामीलाई शंकास्पद व्यक्तिले पिछा छाडेका छैनन् ।’