तमु संस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा सम्मान र पुरस्कार दिइने

पोखरा, ४ पुस (समाधान)–तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १८ औं वार्षिकोत्सव स्रष्टा सम्मान, विद्यार्थी पुरस्कार लगायतका कार्यक्रम गरी आइतबार मनाउने भएको छ । प्रतिष्ठानको नीति बमोजिम प्राविधिक, स्वास्थ्य, कानुन र मास कम्युनिकेसनमा विश्वविद्यालय स्तरको अध्ययन गर्ने तमु विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि हरेक वर्ष वार्षिकोत्सवमा पुरस्कृत गर्ने गरिएको छ ।

यस वर्ष रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्नातकोत्तर तहको मास कम्युनिकेसन विषयमा उत्कृष्ट नतिजा प्राप्त गरी उत्तीर्ण हुन सफल दोलखा जिरी नगरपालिका २ की भावनाकुमारी तमुलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको रकम २० हजार छ । स्रष्टा सम्मानमा ४ दशकदेखि नेपाली कला तथा तमु चलचित्रमा निरन्तर योगदान पु¥याएका नृत्यकार, अभिनेता तथा हास्य कलाकार बलबहादुर तमुलाई फेटा, नगद १० हजारका साथ सम्मानपत्रबाट सम्मान गरिनेछ ।

क्या. मिन बहादुर तमु (डाँफेबाजे) स्मृति पुरस्कारबाट लोक नृत्यमा ४ दशक लामो समय योगदान पु¥याएका दानबहादुर तमुलाई नगद २५ हजार, फेटा र सम्मानपत्रसहित गरिनेछ । एनआरएन तथा युवा व्यवसायी हिमाल तमुद्वारा स्थापित लालशोभा तमु उत्कृष्ट आमा अवार्डद्वारा संस्थाको छात्रवृत्ति प्राप्त गरी अध्ययन गरिरहेका तमु विद्यार्थीमध्येबाट एसइईमा उत्कृष्ट नतिजा प्राप्त गरी उत्तीर्ण गरेका विद्यार्थीकी आमालाई नगद २० हजारद्वारा पुरस्कृत गर्ने गरिन्छ । यस वर्ष बहादुरे मावि भदौरे, कास्कीका विद्यार्थी निशान तमुकी आमा श्रीमती गौलक्ष्मी तमुलाई उक्त अवार्ड प्रदान गरिने भएको छ ।

देश तथा विदेशमा रहेका संघ, संस्था तथा व्यक्ति विशेषको आर्थिक सहयोगबाट स्थापना गरिएका अक्षयकोषहरुबाट प्रतिष्ठानले स्रष्टा सम्मान, विद्यार्थी पुरस्कार एवं ग्रामीण भेगका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङले जानकारी दिए । संस्थामा ५२ जना संस्थापक र १ सय ६४ आजीवन सदस्य छन् ।