पठाओ र टुटल बन्द नहुने, कानुनी दायरामा ल्याइने

सरकारले अनलाइनमार्फत सशुल्क लिफ्ट सेवा प्रदान गर्ने पठाओ र टुटललाई कानुनी दायरामा ल्याउने भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पठाओ र टुटुलजस्ता अनलाइन लिफ्ट सेवा प्रदान गर्ने कम्पनीलाई बन्द नगरिने बताएका हुन् । ‘स्टार्टअप, अनलाइनप्रति सरकार नकारात्मक छैन,’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयमा प्रतिबन्ध लगाउने सरकारको चाहना होइन ।’

टुटल र पठाओबाट सेवा लिने सेवाग्राहीको भौतिक र व्यक्तिगत जोखिमलाई हेरेर सरकारले रोक्ने निर्णय गरेको बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘अब यस्ता व्यवसायलाई पनि कानुनीकृत गर्नुपर्यो ।’

यसअघि ट्राफिक प्रहरीले टुटल र पठाओबाट यात्रु ओसार्ने चालकलाई पक्राउ गरेको थियो । चालक पक्राउ गरेपछि भएको व्यापक विरोधका कारण प्रधानमन्त्रीले टुटल र पठाओलाई नियमित रूपमा चल्न दिन निर्देशन दिएका थिए ।