भगवती बजारको संक्रान्ति मेला सकियो

कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा पुस ३० गतेबाट लागेको ऐतिहासिक माघे संक्रान्ति मेला बुधबार सकिएको छ ।

आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरिएको मेलामा भएको मादी गाँउ पालिका स्तरीय भलिबल प्रतियोगितामा संरक्षण युवा क्लब घ्यामरूमको समूह प्रथम हुँदै नगद ५० हजार जितेको छ ।

जुरे भूमि युवा क्लब तप्राङले द्वितीय हुँदै नगद ३० हजार प्राप्त गरेको छ । विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगितामा राष्ट्रज्योति मावि सैमराङ प्रथम हुँदै नगद २५ हजार तथा प्रमाणपत्र पाएको छ ।

जन कल्याण मावि मकैखोला द्वितीय हुँदै नगद १५ हजार र जन मन्दिर आधारभूत विद्यालय थुम्सीकोटले तृतीय हुँदै नगद १० हजार पाएका छन् । शोभा मावि माझठाना सान्त्वना भएको छ । छेलो हान्ने प्रतियोगितामा पोखरा १३ का सूर्यबहादुर अधिकारीले प्रथम हुँदै नगद १० हजार प्राप्त गरे ।

द्वितीय हुँदै स्याङजा टक्सारका सुदिन गुरूङले नगद ५ हजार प्राप्त गरेका छन् । गाँउ स्तरीय डोरी तान्ने प्रतियोगितामा रबैडाँडा समूह (क) ले प्रथम हुँदै नगद १० हजार प्राप्त गरेको थियो भने मादी ८ रबैडाँडा समूह द्वितीय हुँदै ७ हजार प्राप्त गरेको छ ।

मेलामा महिलाको लागि राखिएको म्युजिकल चिर्यर प्रतियोगितामा पुनम गुरूङ प्रथम तथा मोती गुरुङ द्वितीय हुँदै क्रमश नगद ६ हजार र ४ हजार प्राप्त गरेको मेला आयोजक समिति सचिव ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

विजयी खेलाडीलाई मादी गाउँपालिका उपप्रमुख विष्णुमाया पौडेल, बरालडाँडा तमु समाज पोखरा १२ का अध्यक्ष क्या. ढोलबहादुर गुरुङ, मेला आयोजक समिति संयोजक चीनबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

मेला आयोजक समिति संयोजक चीनबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव ज्ञानबहादुर कार्कीले गरेका थिए । मेलामा तरेली सांस्कृतिक परिवारको उत्कृष्ट नृत्य प्रद्रर्शन र विभिन्न भजन चुड्का, सोरठी, घाटु नृत्यसमेत देखाइएको थियो ।