जनगायक जीवन शर्मा सम्मानित

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन् । आयोजक युनाइटेड क्लबले प्रत्येक वर्ष लोक संस्कृतिमार्फत समाजमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, महोत्सव मूल आयोजक समिति तथा क्लबका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष तथा महोत्सव सास्कृतिक व्यवस्थापन संयोजक राजु श्रेष्ठ, सचिवालय संयोजक लोकबहादुर थापा लगायतले शर्मालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे ।कार्यक्रममा गायक शर्माले आफ्नो प्रस्तुतिसमेत राखे । शर्माले हिमाली, पहाडी मधेसी हामी सबै नेपाली, बहुचर्चित सबैको मनमा बस्न सफल सिमली छाँयामा बसी र यसपालि त यस्तै भो आमा भन्ने पञ्चे बाजाको गीत समेत महोत्सवमा सुनाए ।

क्लबले यसअघि नेपाली लोपोन्मुख ठाडो भाकाका सर्जक भेडीखर्के साइला (दीर्घराज अधिकारी), गण्डकी क्षेत्रमा लोक संस्कृतिमार्फत नेपालभर गण्डकी प्रदेशको लोक संस्कृतिलाई चिनाउन सफल माया गुरुङ र उमा गुरुङलाई सम्मान गरिसकेको महोत्सव प्रचारप्रचार संयोजक शान्तबहादुर थापाले बताए ।

महोत्सवमा बुधबार चर्चित लोकदोहोरी गायिका राधिका हमालको दोहोरी र एकल प्रस्तुतिले महोत्सवमा रौनक थप्यो । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, शिवहरि ढुंगाना, कृष्ण सुवेदी, सीता केसी, सजना बास्तोला, रनु गुरुङ, प्रेमराज अधिकारी लगायतको प्रस्तुतिका साथै हास्य व्यंग्यतर्फ घिरौले र सापटीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएको छ । साँझ मेलिना राइ र स्कार्डस जर्नीको लाइभ ब्यान्ड प्रस्तुतिले दर्शकलाई नचाएको छ ।

महोत्सवमा बिहीबार लोकदोहोरीतर्फ ज्योति मगर, जीवन दाहाल, माधव चापागाई, आयुष परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुति रहनेछ भने कलाकार दीपक थापाले दर्शकलाई हसाउने छन् ।

बिहीबार सांस्कृतिक कार्यक्रमतर्फ तरेली सांस्कृतिक परिवारको लोक संस्कृतिसँगै लालीगुराँस पुन मगर समाज लामाचौरले धौलागिरी क्षेत्रमा प्रचलित लोपोन्मुख मगर संस्कृतिमा आधारित थाली नाच देखाउनेछ । लाइभ ब्यान्डतर्फ दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड बिहीबारका आकर्षण हुन् ।