आफनैँ छोरी बेपत्ता पारेको भन्दै बमजनलाई फेरि पर्‍यो अर्को जाहेरी

तपश्वी रामबहादुर बमजनले छोरी वेपत्ता पारेको भन्दै फेरि प्रहरीमा अर्को जाहेरी परेको छ । 

बमजनले आफ्नी छोरी रिता बमजनलाई बेपत्ता पारेको भन्दै सर्लाहीको बागमती नगरपालिका–१२ काजीराम टोलकी सुम्नी बोटले प्रहरीमा जाहेरी दिएकी हुन् । एक पटक छोरी रितासँगै बमजन घरमा आएर एक महिनासम्म बसेको, छोरी पछिल्लो पटक आउँदा जमिनमुनि गाडेका फोटोहरू झिकेर जलाएर गएको, त्यसपछि फर्केर नआएको सुम्निले प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा लेखिएको छ–फोटोहरू जलाएर गएकी छोरी अहिलेसम्म आएकी छैनन् । बरू बमजन आफैं आएर रिताबारे सोधेका थिए । बमजनकै आश्रमबाट छोरी हराएकाले खोजी पाउँ । बमजनको आश्रमबाट आफन्त बेपत्ता भएको भन्दै यसअघि प्रहरीमा चार वटा उजुरी परिसकेका छन् ।

यसअघि नुवाकोटकी गंगामाया तामाङले बहिनी, मकवानपुरका विजय रूम्बाले दिदी, मकवानपुरकै महिन्द्र वाइवाले बुवा र बाराका हस्तबहादुर आलेले छोरा बमजनको आश्रमबाट बेपत्ता भएको भन्दै जाहेरी दिइसकेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले जाहेरीमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

पोखरेलले भने, ‘हलखोरिया आश्रमबाट हराएको भन्ने छ । हामीले यसबारे अनुसन्धान गरिरहेका छौ । सर्लाहीकै पथ्थरकोटलगायत अन्तका आश्रममा पनि हामीले रिताबारे सोधिखोजी गर्दैछौ ।’

रिता २०६६ अघि नै बमजनको हलखोरीयास्थित आश्रममा बस्न थालेको जनाइएको छ । उनी र बमजनबीच गुरू र आनीको मात्र नभई प्रेम सम्बन्ध समेत रहेको जनाइएको छ । छोरी र बमजनबीचको प्रेम समबन्धका बारेमा स्वयम् बमजनले नै बताएको रिताका परिवारले बताएका छन् । 

२०६६ मंसिरमा रिता बमजनलाई लिएर काजीराम टोलस्थित आफ्नो घर गएकी थिइन् । आँगनसँगै जोडिएका दुईमध्ये एउटा घरको माथिल्लो तलामा बमजन र आफ्नी छोरी रिता एक महिनासम्म बसेको सुम्निले बताएकी छन् । एक महिना जति बसेर गएको तीन महिनापछि रिता एक्लै घर आएको उनले जानकारी दिएकी छन् । 

घटनाबारे सुनाउँदै सुम्निले भनिन्, ‘एक्लै आउँदा छोरीले त्यसअघि आफैंले जमिनमुनि गाडेर राखेका फोटोहरू झिकेर जलाएकी थिइन् ।’ त्यहीबेला छोरीले आफूले आश्रममा धेरै यातना पाएको बताएको सुम्नि बताउँछिन् । रिताको शरीरमा हतियारले चिरेको र कुटेको जस्तो घाउ देखेको उनले बताइन् ।

चार–पाँच दिनपछि बमजनले नै फोन गरेर बोलाएको र आफूले नजाऊ भन्दाभन्दै छोरी आश्रम गएको बताउँदै सुम्निले थपिन्, ‘त्यसयता रिताको अत्तोपत्तो छैन । रिता आश्रम गएको केही समयमा बरू बमजन रिताबारे सोध्न आएका थिए । रितालाई खोज्दै आएका बमजनले उनका दाजुलाई प्रहरीमा उजुरी नगर्न भनेका थिए । उजुरी गरे दुबैलाई अप्ठ्यारो पर्ने धम्की दिएको पनि उनले बताएकी छन् ।