आफूमाथि बलात्कार नभएको भन्दै प्रेमीलाई छुटाउन अड्डा धाउँदै

 मुद्दा बलात्कारको छ । आरोपित सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी छन् । ‘जाहेरवाली’ भनिएकी युवतीचाहिँ आफूमाथि बलात्कार भएकै होइन भन्दै प्रेमीलाई छुटाउन अड्डा, अदालत धाउँदै छिन् । तर न्यायालय भन्छ, ‘मुद्दा हाल्न आउने सक्कली पीडित तिमी नै हौ भन्ने के प्रमाण छ ?’

कानुन कस्तो ! अंशमुद्दा लड्न १६ वर्ष भए पुग्छ । नागरिकता पाउन र जागिर खान पनि १६ वर्ष भए चल्छ । तर, विवाह गर्न १८ वर्ष पूरा हुनै पर्ने । कानुनको यही छिद्र केलाएर १८ वर्ष पुग्न केही महिना बाँकी हुँदा एकै स्थान र उही धर्मको प्रेमीसँग हुँदै नभएको जबरजस्ती यौन सम्बन्धलाई भएकै हो भनी अभिभावककै दबाबअन्तर्गत सामुहिक बलात्कारमा जाहेरी दिन लगाएर अहिले एक जना युवकलाई जेलमा कोचिएको छ ।

आफूमाथि बलात्कार भएको हुँदै होइन भनी बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत जाने युवतीलाई अदालतले पत्याउँदैन । कारण हो, प्रहरीले यस्ता संवेदनशील मुद्दामा जाहेरवालाको नाम लुकाउँछ र अर्र्कै साँकेतिक नाम हाल्छ । 

जबिसुल खातुनले आफूमाथि बलात्कार नभएको भन्दै थुनिएका प्रेमीलाई छुटाउन जाँदा पुस २५ गते अदालतले सोध्यो, ‘तिमी नै पीडित हौ भन्ने के प्रमाण छ ?’ जसिबुलको माग थियो, ‘मेरो माइतीले षड्यन्त्र गरी प्रेमी सनाउललाई झुठा मुद्दामा थुनियो । त्यसैले उनलाई जेलबाहिर बसेर मुद्दा पुर्पक्ष गर्न दिइयोस् ।’ 

युवतीको पक्षमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, कुमार अधिकारी र कृष्ण भण्डारीहरुले बहस गरे भने सरकारी वकिल बिना दाहाल सनाउललाई १२ वर्षसम्म थुन्नुपर्ने अचल सम्पत्ति रोक्का राखिनुपर्ने पक्षमा अडिग रहिन् ।

जबिसुल र सनाउलबीच ३–४ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । दिदीसँग जनकपुरमा बसेर १० कक्षाको कोचिङ पढ्ने क्रममा बुबाले भारत, सीतामढीका एक युवकसँग विवाह गर्ने प्रस्ताव ल्याएका थिए । उनले विवाह अस्वीकार गरी सनाउल्लाहलाई फोन गरिन्, ‘मलाई भगाएर लैजाऊ, नत्र आत्महत्या गर्छु ।’ उनी आफ्नै खर्चमा केटासहित असोज १७ गते काठमाडौंको इन्द्रचोक पुगिन् ।

गाउँबाट बाबुआमाले भोलिपल्ट तिमीहरुको विवाह गरिदिन्छौं भनी बोलाए । बयलबास पुग्दा बुबा, काकाहरु चोकमै बसेका थिए । उनीहरुले तत्कालै नजिकैको इप्रका ईश्वरपुरमा लगी बलात्कार मुद्दा हाल्न दबाब दिए । तर, प्रहरीले यस्तो मुद्दा जाहेरवालाको इच्छाविपरित दर्ता नलिने बतायो ।

त्यसपछि केटीका बुबाले सनाउलसँगै सात दिनभित्र विवाह गराई दिने, तर एउटा कागजमा सही गर्नुपर्ने शर्त राखे । यदि कागजमा सही नगरे सनाउललाई मार्ने र आफू पनि मर्ने भने । जबिसुलले तयार पारिएका सबै कागजमा सही गरिन् । 

त्यही आधारमा सनाउल पक्राउ परे, जेल गए । केटीलाई घर लगेर थुनियो । र, अर्कैसँग विवाह गराउन प्रयास थालियो । भेट्न आएका साथीहरुले केटालाई थुनेको सुनाएपछि जबिसुल त्यहाँबाट भागिन् । काठमाडौं पुगेर प्रेमीलाई केन्द्रीय कारागारमा भेटिन् ।

उनले आफूलाई प्रहरीले जबरजस्ती कागज गराएको भने । आफूमाथि जबरजस्ती करणी नभएको र चिकित्सकीय रुपमा समेत सो कुरा प्रमाणित नभइरहेको अवस्थामा सनाउल र गाउँले रिसइबिमा उनका मामा कैसर मन्सुर र खुर्सिद मन्सुरलाई समेत झुठा मुद्दा लगाइएको भनी उनी मानवअधिकार आयोग, महिला आयोग र केही महिलावादी संघ, संस्था धाइन् । 

त्यहाँबाट जवाफ आयो, ‘अदालतमा विचाराधीन मुद्दामा केही गर्न सकिँदैन ।’ प्रहरी समक्ष गइन्, सनाउललाई छोडिदेऊ भन्दै । प्रकृयागत रुपमा सरकारमार्फत झिकाइने भनी उनको निवेदन लिइएन । यसपछि उनी आफ्नो पति भनी मनले स्वीकार गरिसकेको व्यक्ति नगरेको कसुरमा थुनामा रहेको भन्दै अन्य कुनै उपायको अभावमा सर्वोच्च गइन् ।

‘कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता काननु बमोजिम बाहेक अहरणीय हुने हुँदा कसैलाई पनि उचित र पर्याप्त कानुनी आधारबिना वैयक्तिक स्वतन्त्रता हरण गर्ने गरी थुनामा राख्न हुँदैन र थुनामा राख्नुपूर्व थुनामा राख्ने अधिकारीले त्यस्तो व्यक्तिलाई पर्याप्त र उचित कारण छ, छैन भन्ने कुरामा सुनिश्चित हुनुपर्छ’ भनी विजयराज निरौलाको विरुद्ध प्रहरी प्रधान कार्यालय भएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा दिइएको आदेशलाई आधार मान्दै (नेपाल कानुन पत्रिकाको २०७२ अं १ नि.नं. ९३२६) रिट तयार पारिन् । तर, सर्वोच्चले रिट निवेदक र जनसेवा ४० उही हो भन्ने प्रमाण नपुग्दा रिट स्वीकार गरेको छैन ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।