माइनस १० डिग्रीमा पनि खुला आकाशमुनि

तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरू खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् ।

हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नु पने बाध्यता रहेको छ । सर्केगाड गाउँपालिका वडा ३ उनापानी गाउँकी सविता थापाले आफूहरू महिनावारी हुँदा पुस–माघको कठ्याङ्गग्रिँदो चिसोमा खुल्ला आकाशमुनि बस्दै आएको बताइन् ।

सामाजिक मान्यता र वर्षौंदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा महिलाले महिनावारीका बेला यस्तो सास्ती खप्नुपर्छ ।

उनापानी गाउँको बीचमा रहेको खाली जग्गामा रातको समयमा बालेको आगो ताप्दै बसेकी पञ्चकली भडेराले भनिन् – “म अहिले ४४ वर्षकी भएँ । मेरो महिनावारी शुरु भएदेखि आजसम्म घरको आँगनमा यसरी आगोको भरमा बस्दै आइरहेकी छु ।

फेरुवा र छालाको सानो लिप्टो (सानो टुक्रा) ओछ्यान लगाएर पातलो कम्बल ओढेर आगो नजीक बसेकी फडेराले यो महिलाहरूको रहर नभएर बाध्यता भएको बताइन् ।

अन्य गाउँपालिकाका महिला भने महिनावारी (छुई) हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् । शिक्षित महिलाहरू पनि महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । फडेराले भनिन् – “यो कुनै छोइछिटो वा छुवाछूतको कुरा होइन तर, यति कुरा थाहा हुँदा हुँदै पनि गाउँ समाजका अगाडि निरीह भएर बस्नुको कुनै विकल्प छैन ।”

बाह्र उत्तीर्ण गरेकी उर्मिला रावतले यस्तो कुप्रथालाई मान्नु पर्दैन भनेर बहस गर्न खोज्दा समाजमा एक्लिने डरकै कारण चुप लागेर बस्नु पर्ने अवस्था रहेको दुःखेसो पोखिन् ।

उनापानि गाउँ जिल्लाकै शिक्षित गाउँका रूपमा चिनिएको भए पनि कुसंस्कारले जकडिएको परम्परा र धार्मिक अन्धविश्वासका कारण महिलाहरूले यो नियति भोग्नुपरेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । चिसोका कारण यहाँका अधिकाँस महिला बाथ, दम, निमोनिया जस्ता रोगको शिकार बन्ने गरेका छन् ।

सर्केगाड गाउँपालिकामा मात्र नभएर जिल्लाका सातवटै गाउँपालिकामा यो चलन रहेको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।