आउने साल क्षतिपूर्तिसहित वृद्धभत्ता बढ्छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी वर्ष वृद्धभत्ता बढ्ने बताएका छन् । उनले गत वर्ष वृद्धभत्ता बढाउन नसकिएको भन्दै आगामीदेखि वृद्धभत्ता बढ्ने दाबी गरे ।

उनले भने, ‘निर्वाचनको बेला वृद्धभत्ता बढाउँछौ भनेका थियौ, तर गत वर्ष सकेनौं, अब क्षतिपूर्तिसहित वृद्धभत्ता बढाउने सरकारको तयारी छ ।’ सरकारले चुनाव बेला गरेका सबै प्रतिबद्धता पूरा हुने बताए । सरकारले नेपालमा रेल र पानीजहाज चलाएर छाड्नेसमेत मन्त्री ढकालले उद्घोष गरे ।

तनहुँको बन्दीपुर गाउँपालिकाले मंगलबार आयोजना गरेको मिनी म्याराथन प्रतियोगितामा ढकालले यस्तो बताएका हुन् । प्रतियोगिताकमो उपाधि बन्दीपुर गाउँपालिका २ का सुजन पुनले जितेका छन् । ५२ प्रतियोगीलाई पछि पार्दै पुनले उपाधि हात पारेका हुन् ।

बन्दीपुरको डुम्रे बजारदेखि गाउँपालिका कार्यालयसम्मको ९ किमी उनले ३६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । प्रतियोगितामा रामेछापका होमलाल श्रेष्ठ द्वितीय, धादिङका हरिकुमार रिमाल तृतीय र पाँचथरका भूमिराज राई सान्त्वना भए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश ४० हजार, २० हजार, १० हजार र ५ हजारका साथै प्रमाणपत्र दिइएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, सुर्खेतका प्रतिनिधि सभा सदस्य धु्रव शाही, जुम्लाका गजेन्द्र महत, बाजुराका लालबहादुर थापा लगायतले बोलेका थिए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।