३ बालबालिका मार्ने चितुवा मृत भेटियो

तनहुँको भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा आइतबार मृत फेला परेको छ । चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका ३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका ४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको ज्यान गएको थियो ।

भानु नगरपालिका २ स्थित देउराली सामुदायिक वनमा नरभक्षी चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । चितुवा नियन्त्रणका लागि मंसिर १५ गतेदेखि टोली परिचालन भए पनि चितुवा नियन्त्रणमा लिन सकिएको थिएन ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले मृत अवस्थामा फेला परेको चितुवा सोही नरभक्षी चितुवा रहेको पुष्टि गरे । उनले भने, ‘सिसी क्यामरामा कैद भएका तस्बिरका आधारबाट बालबालिकालाई आक्रमण गर्ने चितुवा सोही रहेको पुष्टि भएको छ ।’