नेपाली समाजको ऐना निरमाया

पोखरा थिएटरको गन्धर्व नाटकघरमा निरमाया मञ्चन भइरहेको छ । शुक्रबारबाट मञ्चन शुरु भएको नाटक शनिबार भने २ सो मा निरमाया प्रस्तुत गरियो । नाटक माघ १२ गतेसम्म नियमित मञ्चन गरिनेछ ।

नाटक हेर्न १ घण्टा ४० सयम खर्चनुपर्छ तर नाटक हेर्न पुगेका दर्शकलाई उक्त समय गएको पत्तै भएन । दर्शकको मन नाटकले जितिरहेको छ ।वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले झण्डै ३० वर्ष अघि नाटक लेखेका थिए ।

गरिब, शोषित, दलित, यौन पीडित समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमाया मनोरञ्जनसँगै सन्देशमूलक छ ।

नाटकले दर्शकलाई भर्खर रुवाउँछ अनि हसाँउछ पनि । कतिबेला गम्भीर वातावरणमा पुर्‍याइदिन्छ । त्यतिमात्र हैन, नाटकमा समावेश गरिएको लाइभ बाजा र रत्यौलीले दर्शकसँगै कलाकारलाई पनि उत्साह थप्छ ।

नाटकको निर्देशन परिवर्तन कार्कीले गरेका हुन् । यसअघि ‘बितेका कुरा’ निर्देशन गरी नाटक निर्देशनमा डेब्यु गरेका उनले यो नाटकमा आफू खारिएको दर्शकलाई विश्वास दिलाउन सफल भएका छन् ।

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सिना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दीप पाण्डे, ईश्वर कार्की, सोनिया कार्की, प्रतीक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना लगायतका कलाकारको अभिनय रहेको छ ।

गन्धर्व नाटकघरमा मञ्चन भएको यो २३ औँ नाटक हो । पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन हुने भने यो पाँचौ नाटक हो ।

नाटक हरेक दिन साँझ पौने ५ बजे मञ्चन हुनेछ भने शनिबार तथा बिदाको दिनमा अतिरिक्त सो मार्फत हेर्न पाइनेछ । नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्नेछ ।

हाम्रो समाजमा भइरहेको असमानताको खाडललाई नाटकमार्फत चित्रण गर्दा दर्शकले आफ्नो अपनत्व महसुस गर्छन् । दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेपछि कलाकारमा ऊर्जा थपिएको छ ।