खोला थुनिएर बनेको तुरेतुरेतालमा नौका बिहार

यसपालिको भदौमा २९ गते आएको पहिरोले खोला थुनियो । केही घर बिस्थापित भए । बिपत्तिबाट सिर्जना भएको ताल अहिले आशाको त्यान्द्रो बनेको छ ।

ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सीमानामा रहेको बनेको यो तालमा नियमित रुपमा नौका बिहार सुरु भएको छ । ढोरपाटन नगरपालिकाको पहलमा विधिवत रुपमा नौका बिहार सञ्चालनमा आएको हो ।

यहाँका पीडित परिवारको पीडामा मलम लगाउने उद्देश्यसहित डुबान पीडितहरूको भेलाबाट दिलबहादुर कुमालको अध्यक्षतामा ७ सदस्यीय समिति बनाएर नौका बिहार सञ्चालनमा ल्याइएको हो । ¥याफ्टिङ सञ्चालनमा आएपछि बस्ती डुबानको पीडामा रहेका पीडितले पीडालाई बिस्तारै भुल्दै तुरतुरेतालमा रमाउन थालेको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिह पाइजा बताउँछन् ।