पोखरा महोत्सवको रौनक बढ्यो, दर्शक रुचाए अर्गानिक खानेकुरा

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा आउने अधिकांश दर्शकले अर्गानिक कृषि उत्पादन रुचाएका छन् । सहरमा बस्नेहरुमा पछिल्लो समय ग्रामीण भेगमा फलाइने कृषिजन्य सामग्रीको आकर्षण बढेको छ ।

पोखरा महोत्सवमा राखिएका अर्गानिक कृषि उत्पादन किन्नेहरु धेरै देखिएका छने । बाँसटारी अर्गानिक कृषि फर्म पोखरा ५ पस्र्याङबाट उत्पादन गरिएका वस्तु किन्न महोत्सवमा आउनेको भीड नै लाग्ने गरेको छ ।

फर्मबाट उत्पादन गरिएका साग, काउली, बन्दा, ब्रो काउली, सिमी, हिउदे सिमी, आलु, लसुन, प्याज, धनिया, अदुवा, लगायतका कृषिजन्य उपज किन्नमा महोत्सवमा आउनेको भीड लागेको महोत्सव अर्थ स्टल ब्यवस्थापन संयोजक गणेश तिमिल्सिनाले बताए । अर्गानिक उत्पादन प्रवद्र्धन गर्नका लागि फर्मले ८ रोपनीमा गाईभैसीको मलमात्र प्रयोग गरी उत्पादन गरिरहेको फर्म सञ्चालक इन्द्रबहादुर रानामगर र संगीता रानामगरले बताए ।

उनीहरुले फर्ममा उत्पादन भएका सामग्रीसँगै माघे संक्रान्तिलाई लक्षित गरी घर तरुल, वन तरुल र सखरखण्डसमेत बिक्रीका लागी राखेका छन् ।

महोत्सवमा आउने दर्शकको होम स्टे र पोखराको लेखनाथमा निर्माणाधीन चिडियाखानाको स्यान्ड मोडेलले समेत ध्यान खिचेको महोत्सव सचिवालय संयोजक लोकबहादुर थापाले बताए । महोत्सवको दोस्रो दिन चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए । प्रजापति पराजुली, शिवहरि ढुंगाना, तुलसा जिसी, टेक क्षेत्री, सरस्वती लामिछाने, ईश्वर सिंह र करन तामाङले पनि दर्शकलाई मनोरञ्जन दिए । लाइभ कन्सर्टतर्फ स्थानीय आत्मसर्ग र चर्चित ¥यापर लाहुरेको प्रस्तुति थियो ।

गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगितामा लमजुङले मुस्ताङलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । महोत्सवमा शनिबार पार्वती गुफा हरिकृतन भजन समूह पर्वतको बालन भजन र घाँसीकुवा युवा क्लबको मगर संस्कृतिमा आधारित चर्चित कौराको प्रत्यक्ष नाच आकर्षक थिए ।

आइतबार लोकदोहोरीतर्फ राजु गुरुङ, प्रजापति पराजुली, शिवहरि ढुंगाना, घनश्याम रिजाल, जीवन दाहाल, केशव देवकोटा, प्रेमराज अधिकारी, सरला पाण्डे र मन्जु विकले माहोल तताउने छन् । प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगितामा तनहु ँर पर्वतको घम्साघम्सी हुनेछ । साँझ लाइभ कन्सर्टतर्फ पुष्पन प्रधानको ब्यान्डको प्रस्तुति रहनेछ । आइतबार गुरुङ संस्कृतिमा प्रचलित रोधीलाई सल्यान खनडाँडा टाँउ घरेडी तमु समाजले प्रत्यक्ष देखाउने आयोजकले जनाएको छ ।