दिवाखाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिका विद्यालय जान छाडे

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । 

खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्ना दर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन् । 

चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको राप्ती नगरपालिका–१३ कालीटारको आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ खाजा कार्यक्रम हटेपछि विद्यार्थीलाई नियमित बनाउन गाह्राे भइरहेको बताउँछन्।

‘पाँच महीनादेखि विद्यालयमा विद्यार्थी नियमित आउने दर कम छ’ उनले भने, ‘विद्यालय आउने विद्यार्थी पनि खाना नखाई न्याउरो मुख लगाएर आउने गरेका छन् ।’ चिसो बढी भएकाले र भौगोलिक विकटताका कारण पनि बालबालिका नियमित हुन नसकेको श्रेष्ठको भनाइ छ । 

चिसोमा लगाउने स्वीटरसमेत नहुँदा कतिपय बालबालिका नियमित हुन सकेका छैनन् । आधारभूत विद्यालयमा पैदल एक घण्टासम्म हिँडेर बालबालिका विद्यालय आउने गरेका छन् ।

१७२ चेपाङ बालबालिका अध्ययन गर्ने आधारभूत विद्यालयमा अहिले ४० देखि ५० जना मात्रै नियमित विद्यालय आउने गरेका छन् । वडा नम्बर १३ को ग्यामिराङ, थानडाँडा, खोलाधारी, कुमैटारलगायतका क्षेत्रबाट अध्ययनका लागि विद्यार्थी आधारभूत विद्यालयमा आउने गरेका छन् । 

राप्ती नगरपालिकाकै वडा नम्वर १३ को राष्ट्रिय आधारभूत विद्यालयमा पनि विद्यालयमा विद्यार्थी नियमित नहुने समस्या उस्तै छ । विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार शाहले ८५ विद्यार्थीमध्ये आधा विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको बताए ।

८५ मा ८४ जना चेपाङ बालबालिका र एक जना दलित विद्यार्थी छन् । ‘डेढ–दुई घण्टा हिँडेर विद्यार्थी विद्यालय आउनुपर्ने बाध्यता छ, शाहले भने, गरीबीका कारण सबै अभिभावकले विद्यालय पठाउँदैनन् ।’ धेरै बालबालिका हुने घरमा आमाबुबा मेलापात जाने र विद्यालय आउने उमेरका बालबालिकालाई भाइबहिनी हेर्न लगाउने गरिएको छ । 

अधिकारीका अनुसार ‘नगपालिकाभित्रका चेपाङ बालबालिकाका लागि मात्रै खाजामा करिब ४५ लाख खर्च हुन्छ, ‘नगरपालिकाले छुट्टाएको १० लाख बजेटले सीमित क्षेत्रलाई पनि पुग्दैन् ।’ नगरपालिकाको पहाडी क्षेत्रको १०, ११ १२ र १३ नम्बर वडामा दुई हजार ८०० विद्यार्थीमध्ये दुई हजार २०० चेपाङ बालबालिका मात्रै रहेका छन् । 

अन्य ६०० मा पनि अधिकांश जनजाति समुदायका विद्यार्थी छन् । भौगोलिक विकटतासँगै घरमा समयमै खाना खान नपाउने भएकै कारण बालबालिका विद्यालयसम्म आउने वातावरण नबनेको अधिकारीको भनाइ छ । उनले बालबालिकालाई नियमित बनाउन न्यानो कपडा वितरण, छलफल, अन्तक्र्रियालगायतका कार्यक्रम निरन्तर गरिरहेको जानकारी दिए ।