सेनकालीन इतिहास जोडिएका क्षेत्र ओझेलमा

सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवद्र्धन तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् ।

सेनकालीन समयमा निर्माण भएको गैंडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढीलगायतका क्षेत्रको संरक्षण तथा प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेका हुन् ।

किंवदन्ती अनुसार कैलाश सन्न्यास आश्रममा पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरेका हुन । पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको सुरुतिर पाल्पाका राजा मणिमुकुन्द यस क्षेत्रमा आई बसेको गरेको किंवदन्ती छ । सोही क्रममा राजा मुकुन्दसेनले मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ ।

सयौँ वर्ष पहिलाको इतिहास जोडिएको कैलाश सन्न्यास आश्रमको संवद्र्धनमा भने राज्यस्तरबाट खासै चासो नदिएको कैलाश आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले बताए । पुरातत्व विभागले विसं २०७० मा यस मन्दिर परिसरमा उत्खनन् गरेको थियो ।

विभागले उत्खनन् गर्दा विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुंगा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकारप्रकारमा कुदिएका कलात्मक ढुंगा फेला परेका थिए । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकारप्रकारमा कुँदिएका छन् ।

पुरातत्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुंगा सेनकालीन हुन् । विभागले १ हजार ५ सय १८ वटा ढुङ्गा उत्खनन् गरेर राखेको छ । शिवलिंग र केही देवीदेवताका मूर्ति कुदिएका ढुंगालाई टिनको टहरामा सुरक्षित गरी राखिएको छ । तर अन्य ढुंगा भने बाहिरै जमीनमा फैलाएर राख्दा लेउ लागेको छ । यी ढुङ्गाको सुरक्षा नगरे यसको मौलिक कलात्मकता नाश हुने हो कि भन्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।

समितिका अध्यक्ष घिमिरेले सरकारले पटक–पटकको पहलपछि यहाँ उत्खनन् गरे पनि उत्खनन् गरेका ढुङ्गाको उचित सुरक्षा गर्न नसकेको बताए । पुरातत्व विभागले शिव मन्दिर निर्माण गरिने जनाएको छ । प्रयोग गर्न मिल्ने ढुंगा मन्दिर निर्माणका लागि प्रयोग गरिनेछ ।

विभागले ७ करोड ६८ लाख ५४ हजार १ सय ११ विनियोजन गरेर मन्दिर निर्माणका लागि बोलपत्र आह्वान गरेको भए पनि सो रकममा सम्झौता हुन नसकेपछि पुनःमूल्यांकन गरी पुनःबोलपत्र आह्वान गर्ने आश्वासन आफूहरूले पाएको अध्यक्ष घिमिरेले बताए । १ महिनाअघि मन्दिर पुनःनिर्माणको पहल गरिदिन आग्रह गर्न जाँदा विभागले चाँडै प्रक्रियामा जाने बताएको घिमिरेले बताए ।

नवलपुरमा नै रहेको सेनकालीन रुद्रपुर गढीको उत्खनन्समेत हुनसकेको छैन । हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको गढीमा दरबारको भग्नावशेष, दरबारको सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो र सेनाहरूले परेड खेल्ने टुँडिखेलसमेत रहको धौवादी समाजसेवी अगुवा झविलाल रानामगरले बताए । तर यसको उत्खनन् र संरक्षणमा राज्यस्तरबाट कुनै कार्य नभएको उनले बताए । नवलपुरमा रहेका सेनकालीन इतिहास बोकेका यी क्षेत्रको संवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके हजारौँ पर्यटक भित्र्याउन सकिने थियो । रासस