
चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्य रहेको बताएका छन् । उनले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिए ।
चीनसँग ताइवान पुनःएकीकरण भए पनि चीनले लोकतान्त्रिक ताइवान होस् भन्ने चाहेको राष्ट्रपति सीले स्पष्ट गरे । सन् १९४९ मा चीनको मुख्य भू–भागमा गृहयुद्ध समाप्त भएदेखि नै चीन र ताइवानमा अलग अलग शासन व्यवस्था छ । “चीनसँग ताइवान एकीकरण हुनै पर्दछ, र त्यो अवश्य हुनेछ । नयाँ युगमा चीन र ताइवानमा बाँडिएर रहेका चिनीया जनतामा पुनर्जीवन दिनु आवश्यक छ,” सीले भने ।
राष्ट्रपति सीले सन् १९७९ मा ताइवानलाई एकीकरण र सैनिक विवाद अन्त्य गर्नेगरी सन्देश पठाएको ४०औं वर्षगाँठका अवसरमा उक्त विचार व्यक्त गरेका हुन् । बेइजिङमा आयोजित समारोहमा राष्ट्रपति सीले एकीकरण गर्दा “एक देश, दुई प्रणाली” अन्तर्गतकै विधिमा हुने बताउँदै यसले ताइवानी जनताको सरोकार र भलाइको सुरक्षा हुने बताए ।
ताइवानले आपूmलाई स्वतन्त्र र सार्वभौम राष्ट्र मान्दछ । ताइवानको आफ्नै मुद्रा छ, राजनीतिक र न्यायिक प्रणाली छ । ताइवानले आजसम्म चीनबाट अलग भएर औपचारिकरुपमा स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरेको छैन ।
ताइवानमा नयाँ राष्ट्रपति चाई इङ–वेन निर्वाचित भएदेखि अर्थात् दुई वर्षदेखि चीनसँग ताइवानको सम्बन्ध चिसिएको छ । राष्ट्रपति चाईले “एक चीन” नीतिसम्बन्धी चिनीया अवधारणाको विरोध गरिरहेका छन् । एएफपी