महेन्द्र मा.विमा प्राविधिक शिक्षाका लागि महायज्ञ हुने

तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादी स्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको पठन पाठनका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ । सरोकारवालाहरुको सहभागिगतामा विद्यालयले बिहीबार विद्यालय प्राङ्गणमा आयोजित बृहत आमभेला भेलाले महायज्ञ गर्ने निर्णय गरेको हो ।

म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायाँदेवि राना, वडा नं- १ का अध्यक्ष शिवसरण वाग्ले सहित चार सय भन्दा बढीको उपस्थितिमा विद्यालयमा समयानुकुल प्राविधिक र सीप मुलक शिक्षाको पठन पाठनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न महायज्ञ गरी आर्थिक संकलन गर्ने निर्णय गरिएको बताइएको छ ।

उक्त भेलाले महायज्ञ मुलसमारोह समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजयराज खनाललाई चयन गरिएको छ । समितिको सदस्यहरूमा वडा नं- १ का अध्यक्ष शिवशरण वाग्ले, विद्यालय व्यवस्थापन समितिको तर्फबाट पूर्व अध्यक्ष पुस्पराज खनाल, पूर्व शिक्षकहरूबाट बद्रिनाथ वाग्ले, भूतपुर्व सैनिकहरूको तर्फबाट राम बहादुर आले, महिलाहरूको तर्फबाट केसि मायाँ आले, प्रचारप्रसारको तर्फबाट बिकास खनाल, दलित समुदायको तर्फबाट बिरबहादुर बिक र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सोमबादुर थापा गरी ९ सदस्यीय मुलसमारोह समिति गठन गरिएको छ । त्यसैगरी सल्लाहकार समितिमा म्याग्दे गाउँपालिका प्रमुख, सबै वडाका वडाअध्यक्षहरू, विद्यालयका पूर्व अध्यक्ष एवं कार्यसमिति सदस्यहरू रहेको प्रचारप्रसार संयोजक बिकास खनालले जानकारी गराए ।