राजीव गुरुङ (दीपक मनाङे)ले शपथ ग्रहण गर्न पाऊँ भनी गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् । सर्वोच्चको आदेशबाट थुनामुक्त उनी गण्डकी प्रदेशसभामा स्वतन्त्र हैसियतमा मनाङ (ख) बाट निर्वाचित भएका थिए ।
उनको मुद्दाको अन्तिम फैसला भएको छैन । नेपालको संविधान २०७२ को धारा १ सय ८१ मा प्रदेशसभा सदस्यको योग्यताबारे प्रश्न उठेमा त्यसको निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्ने व्यवस्था गरेको छ ।
प्रदेशसभा नियमावलीले बिना जानकारी लगातार १० बैठकमा उपस्थित नहुनेको पद खारेज हुने व्यवस्था गरेको छ । तर, उनले शपथै नलिएकाले यो नियम लागू हुने कि नहुनेमा प्रदेशसभा सचिवालय द्विविधामा छ । पहिले एमालेबाट उम्मेदवार बनेका उनलाई चौतर्फी विरोधपछि एमालेले उम्मेदवार बनाएन । पहिले राप्रपा रहेका उनी एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए ।
आधिकारिक उम्मेदवार अर्कै भए पनि उम्मेदवारी फिर्ता लिने समय टरेपछि उनलाई एमालेले समर्थन गरेको थियो । सपथ ग्रहण गर्ने समयमा उनलाई ज्यान मार्ने उद्योग अभियोगमा जेल चलान गरिएको थियो ।
गुरुङले निर्वाचन आयोगबाट प्रदान गरिउको निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयका सचिव शम्भुबहादुर खड्काले यसबारे अहिले नै केही भन्न नसकिने र यसबारे कार्य व्यवस्था परामर्श समितिमा छलफल हुने बताए ।