
घरलाई पिल्लरले थामेझैं शरीरलाई खुट्टाले थामेको हुन्छ । मान्छेको पिल्लर खुट्टाको घुँडामा समस्या आए पूरै घर अर्थात शरीर नै करिब बोझ बन्छ । नेपालमा घुँडाको समस्याबाट लाखौं पीडित छन् ।
धेरैलाई नेपालमै उपचार हुन्छ भन्ने थाहा छैन । कति खर्चमा कहाँ, कसरी उपचार सम्भव छ भन्ने त अझ कमलाई थाहा छ ।
यस्तो समस्याबाट पीडितका लागि सबै उपचार नेपालमै सम्भव गराउने उद्देश्यले स्थापित नेपाल मेडिसिटी अस्पतालले अभियान चलाइरहेको छ ।

घुँडासम्बन्धी समस्या र जोर्नी प्रत्यारोपण परामर्श यात्रा २०७५ नाम दिइएको यो अभियानमा देशकै पूर्वदेखि पश्चिमसम्मका मुख्य सहरमा सित्तै परामर्श शिविर भइरहेका छन् । शिविरमा निशुल्क परामर्श दिई उचित उपचारको सल्लाह साथसाथै घुँडा नै फेर्नुपर्ने बिरामीका लागि सस्तोमा विशेष प्याकेज उपलब्ध गराइने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।
शिविरमा घुँडा नै फेर्नुपर्ने पत्ता लागेका बिरामीले शल्यक्रियाका लागि मेडिसिटी अस्पताल जानुपर्छ । जोर्नी प्रत्यारोपण शल्यक्रिया प्याकेजको ३ लाख ८० हजार पर्छ । यसमा शल्यक्रिया शुल्क, ७ दिनको सिंगल क्याबिन, गुणस्तरीय इम्प्लान्ट, भर्नापछिका सबै औषधि, ल्याबोरेटरी र रेडियोलोजी, फिजियोफेरापी, खाना, वाकर वा नि रोम ब्रेस लगायतका सेवा पर्छन् ।
घुँडाको शल्यक्रिया गर्न अन्य अस्पतालमा करिब ५ लाख लाग्छ । शनिबार पोखरा, लेकसाइडको विभूति अस्पतालमा शिविर हुँदै छ । शिविरमा मेडिसिटीका अर्थाेपेडिक सर्जरी विभाग प्रमुख एवं प्रमुख कन्सल्टेन्ट प्राडा शिशिर लाखेले बिरामीलाई आवश्यक परामर्श दिने छन् । डा. लाखे १८ वर्षेदेखि घुँडा प्रत्यारोपणमा सरिक छन् ।
घुँडा दुख्ने, घुँड बांगिएका, उमेरका कारणले घुँडा खिइएका, बाथका कारणले घुँडाको समस्या, खेलकुदबाट भएको घुँडाको चोटपटक, जोर्नी खिइएको, जोर्नी च्यातिएको, नशा च्यापिएको, अन्य घुँडाका समस्या भएका बिरामीले शिविरबाट लाभ लिन सक्ने छन् ।
नेपालमा घुँडाको समस्या भएका धेरै बिरामी भए पनि उनीहरुले उचित उपचार पाएका छैनन् । डा. लाखे भन्छन्, ‘कतिपयलाई कृत्रिम घुँडा प्रत्यारोपण हुन्छ भन्ने जानकारी छैन । भइहाले पनि कहाँ, कसरी, कति पैसामा हुन्छ भन्ने थाहा छैन ।’
जोर्नी प्रत्यारोपण गर्दा जोर्नीको बिग्रेको भागलाई निकालेर त्यसको ठाउँमा कृत्रिम जोर्नी राखिन्छ । जुन धातु र प्यास्टिकजन्य पदार्थबाट बनेको हुन्छ ।

यो शिविर यसअघि हेटौडा, वीरगञ्ज, जनकपुर, धरान, दमक र बुटबलमा भइसकेको छ । पोखरापछि धनगढीमा पुस २४ र नेपालगञ्जमा पुस २६ गते शिविर हुनेछ ।