२ छोरासहित आमाले खाइन् विष

घरायसी विवादका कारण एक आमाले २ छोरासहित विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेकी छन् । 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सोनमाईस्थित खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती (२४ वर्ष) रिनादेवी यादवले आफ्ना २ छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् ।

विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर छन् । 

आमालाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरको आईसियुमा भर्ना गरिएको छ भने जेठो छोरा रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुुसार सोमबार राति घरमा सासुसँग घरायसी विवाद भएपछि मंगलबार विहान रिना दुई छोरालाई लिएर घरबाट निस्केकी थिइन् । 

घरपरिवार र स्थानीयले विष सेवन गरेको अवस्थामा मंगलबार दिउँसो करिब ३ बजे जनकपुरको कवर्डहल नजिक फेला परेका थिए ।