बलेवा विमानस्थल फेरि गौचरन

नियमित सञ्चालनमा आएको एक वर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महीनादेखि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले जहाज आउजाउ बन्द भएको छ ।

कच्ची धावन मार्ग र विमानस्थल सम्म पुग्ने आठ किलोमिटर सडक कच्ची भएका कारण यात्रुको सङ्ख्या पर्याप्त हुन नसक्दा विमानस्थल बन्द भएको हो । जहाज नचल्दा विमानस्थल फेरि बस्तु भाउको चरिचरनमा परिणत भएको छ ।

विगत नौ महीनाअघि सदरमुकामको हुलाक कार्यालयमा जहाजको टिकट काट्ने ठाउँ भनेर ब्यानर झुण्ड्याइएको थियो ।

टिकटका लागि सम्पर्क व्यक्ति पनि तोकिए पनि अहिले उक्त स्थान समेत हटाइएको छ । गत असारदेखि जहाज आउन छाडेपछि विमानस्थल फेरि गौचरनमा परिणत भएको स्थानीयवासीको भनाइ छ ।

कच्ची धावन मार्ग र विमानस्थल सम्म पुग्ने सडक पनि झण्डै आठ किमि कच्ची भएकाले यात्रुको रोजाइमा यो विमानस्थल पर्न नसकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

नगरपालिकाले पनि नीति तथा कार्यक्रम र बजेटमा यो विमानस्थल सञ्चालनको कार्यक्रम नल्याए पछि जहाज आउने क्रम ठप्पै भएको उहाँको भनाइछ ।

मालढुङ्गा देखि बलेवा सम्मको सडक कालोपत्रे गरेर विमान आवागमन सञ्चालन गर्ने नगरको योजना पनि असफल भएको छ । कालीगण्डकी करिडोरमा पर्ने यो सडकखण्ड चालु वर्षदेखि फराकिलो बनाउन सेनाले जिम्मा लिएको छ ।

यो सडक निर्माणको काम पूरा हुन वर्षौं लाग्ने भएपछि सहजै विमानस्थल पुग्न सकिँदैन । पर्वत सदरमुकामबाट बलेवा जोड्ने पक्की पुल नभएकाले हवाई जहाज चढ्नु पर्दा यात्रीले बलेवाको साटो पोखरा रोज्ने गरेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताए ।

कच्ची धावनमार्ग भएकाले वर्षातमा चिप्लो हुने भएकाले पनि समस्या भएको हो । गत वर्षको फागुनमा बागलुङ नगरपालिकाको अगुवाइमा नेपाल एयरलाइन्स र तारा एयरलाइन्सलाई रु १०÷१० लाख धरौटी राखेर सिट क्षमता नपुगेमा खर्च भराउने शर्तमा जहाज चलाइएको थियो ।

जहाज सञ्चालन अवधिमा झण्डै रु १० लाख बराबरकै सिटको घाटा रकम बागलुङ नगरपालिकाले एयरलाइन्सलाई बुझाएपछि जहाज आउन छाडेको नगर प्रमुख पौडेलले बताए ।

कालीगण्डकी करिडोरको ट्र्याक बाहेकका यसअघि निर्मित सडक कालोपत्रे गर्न सकेमा पनि जहाज सञ्चालन सहज हुने बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीको भनाइ छ ।

बलेवा विमानस्थलमा जहाज अवतरणका लागि समस्या नभएको क्याप्टेन सञ्जीव श्रेष्ठले प्रतिक्रिया दिए। बलेवा विमानस्थल मध्यपहाडी लोकमार्गको मालढुङ्गादेखि कच्ची सडक झण्डै सात किलोमिटरको दूरीमा रहेको छ ।

विसं २०१६ देखि तीनवर्ष लगाएर स्थानीयवासीको प्रयासमा विमानस्थल निर्माण भएको थियो । यो विमानस्थल एक हजार १०० मिटर लामो छ । विसं २०१८ सालदेखि नियमित सञ्चालन भएको जहाज आवागमन विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो ।

बागलुङ नगरपालिका र नागरिक उड्डयन प्राधिकरणबीच गतवर्ष सातामा दुई उडान भर्ने सहमति भएको थियो ।

आइतबार र बिहीबार उडानको तालिका बनाइएकोमा अहिले जहाज आउन छाडेपछि फेरि निराशा भएको स्थानीयवासीले बताएका छन् ।

विमानस्थल सञ्चालनकै लागि यहाँका चार सय भन्दा बढी सल्लाका रूख काटिएको थियो । ती रूख समेत अहिले अलपत्र बनेका छन् ।