काहुँ धरहरा महोत्सवमा ६५ हजार दर्शक

जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा भएको काहुँ धरहरा महोत्सव सकिएको छ । १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव ६५ हजारले हेरेको आयोजकले जनाएको छ ।
आइतबार महोत्सव समापन समारोहमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायबाट आर्थिक कारोबार बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकीय विकास र धरहरा निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्ने उनले बताए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकीय क्षेत्रमा प्रचूर मात्रामा रहेको काहुँ क्षेत्रमा जग्गा खरिद गरी बाँझो राख्न नहुनेमा जोड दिए । होटल, रेस्टुरेन्ट स्थापना गरी स्थानीय कृषि उत्पादनलाई स्थानीय क्षेत्रमै प्राथमिकता दिइनुपर्ने बताए ।
पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, महोत्सवको मुख्य प्रायोजक एनएमबी बैंकका गण्डकी प्रदेश उपप्रमख अमृतराज बास्तोला, समाजसेवी टीकाबहादुर काकी लगायतले काहुँलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।
महोत्सव संयोजक दीपकप्रकाश आचार्यले महोत्सव आशातीत रुपमा सफल भएको बताए । सो अवसरमा विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरियो । रत्यौली गीत प्रतियोगितामा काहुँ कालिका समूह प्रथम, काहुँ आदर्श आमा समूह दोस्रो, आर्वा दिदीबहिनी समूह तेस्रो, नमूना आमा समूह र हेमजा आमा समूह सान्त्वना भए ।
खुला लोकदोहोरीगीत प्रतियोगितामा बाराही दोहोरी साँझ प्रथम, दर्पण छाँया दोहोरी साँझ दोस्रो, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लमजुङ तेस्रो र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान हेमजाले सान्त्वना पुरस्कार पाए ।
कवितावाचन प्रतियोगितामा संगम संयोग प्रथम, केआर ढकाल दोस्रो, तारानाथ पराजुली तेस्रो र नीरज दाहाल सान्त्वना भए । खेलकुदतर्फ साइकल रेस, पर्वतीय दौड र चित्रकला प्रतियोगितालाई समेत पुरस्कृत गरिएको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए ।
विगत २०६२ र २०६५ सालमा दोस्रो संस्करणसम्म काहुँ महोत्सव गरेकोमा तत्कालीन महोत्सव संयोजक ईश्वरीप्रसाद आचार्यलाई पनि सम्मानित गरियो । महोत्सव आयोजक जनकल्याण क्लब अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा फूलबारी क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोला र फूलबारी क्लबका सचिव एवं प्रचार संयोजक दामोदर आचार्यले पनि बोलेका थिए ।