कास्कीको पोखरा १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्रहालय आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । उनले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।
मन्त्री अधिकारीले गन्धर्व नेपाली कला र संस्कृतिका धरोहर भएको उल्लेख गरे । उनले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिए । २०७१ मा निर्माण सुरु गरिएको संग्रहालय भवन १७ लाखको लागतमा गत असार मसान्तमा निर्माणकार्य सम्पन्न भएको कोषाध्यक्ष विनोद गायकले जानकारी दिए ।
संग्रहालयको सुरुवातसँगसँगै त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा स्थानीयवासीले गरेका छन् । संग्रहालयमा गन्धर्वका कला, संस्कृति झल्कने किसिमका सारङ्गी, मादल, अरबाजा लगायतका पुराना बाजा र गन्धर्वसँग सम्बन्धित पुस्तक राखिएका छन् । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा पर्यटकीय रूपमा मात्र नभइ कला र संस्कृतिमा पनि धनी रहेको भन्दै प्रशंसा गरे ।
सो कार्यक्रममा भवन निर्माण उपभोक्ता समिति अध्यक्ष धनबहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचार्य, स्व झलकमान गन्धर्व सालिक निर्माण समिति अध्यक्ष ताराप्रसाद तिमिल्सिना, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष भोजबहादुर गायक, सल्लाहकार भीमबहादुर गायक, उपाध्यक्ष दिनेश गायक लगायतले पर्यटन वर्षलाई सफल बनाउन कला र संस्कृतिलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।