
प्रथम युनाइटेड कप बास्केटबल प्रतियोगिताको उपाधि काठँमाडौंको जेभियर इन्टरनेसनलले चुमेको छ । जेभियरका खेलाडी निकेश मगरको २६ प्वाइन्ट स्कोरसँगै युनाइटेड कपको उपाधी हासिल गर्न सफल भए । प्रतियोगितामा जेभियरले खिलाङलाई ५०–४३ स्कोरले पराजित गरेको थियो ।
उपाधिसँगै जेभियरले नगद १ लाख सहित, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भएको छ । प्रतियोगिताको उपविजेता खिलाङले नगद ४० हजार, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा जेभियरका निकेश मगर उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी भेट्रान्स तर्फको उपाधी एक्स आर्मीले हात पार्न सफल भयो ।
फाइनल खेलमा एक्स आर्मीले लामाचौरलाई ३३–२४ स्कोरले पराजित गरी उपाधि हासिल गरेको हो । उपाधिसँगै एक्स आर्मीले नगद २५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । त्यसैगरी महिलातर्फको खेलमा काठँमाडौं समृद्धि गोरिल्लाले ग्रीनहिललाई ३२–२८ स्कोरले पछाडि पार्दै उपाधी हासिल गर्न सफल भयो । समृद्धिको मुना महर्जनको २१ प्वाइन्ट स्कोरले गोरिल्लालाई उपाधी जित्न सहज बनाएको थियो ।
गोरिल्लाले नगद २० हजार, शिल्ड मेडल र ट्रफी हात पार्न सफल भयो । प्रतियोगितामा विजेता खेलाडीलाई कास्कीका प्रदेश सभा सदस्य गायत्री गुरुङ, संस्थापक हिमालय बख्रेल, सानिमा बैंक अमरसिंह शाखाका प्रबन्धक वीरेन्द्रलाल श्रेष्ठ, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङ, एनआरएन युकेका भूतपूर्व अध्यक्ष मुक्षेत्र गुरुङ, क्लबका सल्लाहकार सेती थापा र क्याप्टेन हितमान गुरुङ, कानुनी सल्लाहकार बिमल भण्डारी क्षेत्री, पोखरा महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण शर्मा, क्लबका अध्यक्ष लालकाजी गुरुङ र क्लबका पदाधिकारीले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गायत्री गुरुङले युनाइटेड क्लबले स्थापना कालदेखि सामाजिक कामसँगै खेलकुद क्षेत्रमा क्रियाशील बन्दै आएकामा खुसी व्यक्त गरिन् ।