नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातै वटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन सुरु भएको छ ।
केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६ पदका लागि चुनाव हुनलागेको हो । एसोसिएसनको कार्यकारिणी समितिको पदावधि २ वर्षको हुने प्रावधान छ ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदै छ । लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इन्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार छन् । सो समूहबाट उपाध्यक्षमा इ डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ अभिमन्युलाल सिंह, उपमहासचिवमा इ अशोककुमार शाह, कोषाध्यक्षमा इ अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा छन् ।
प्रगतिशील समूहबाट अध्यक्षमा प्राडा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा इ आषिश घिमिरे, महासचिवमा इ छविलाल पोखरेल, उपमहासचिवमा इ कपिल आचार्य, कोषाध्यक्षमा इ रामइकवाल यादव, सहकोषाध्यक्षमा इ चाँदमाला श्रेष्ठ उम्मेदवार छन् ।
दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् । घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरू उठाइएका छन् ।
दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन् । बिहान ८ बजे सुरु भएको मदतान अपरान्ह ५ बजेसम्म सकिएको छ ।
त्यसपछि मतगणना हुनेछ ।