चिकित्सालय बन्दै तातोपानी कुण्डहरु

प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरूका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरू बरदान सावित भएका छन् । खास गरी बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरूबाट आक्रान्त व्यक्तिहरूका लागि यहाँका तातोपानी कुण्डहरू लाभदायी भएका हुन् ।


जाडोयाममा बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा अहिले देशैभरिबाट बेनी नपा–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न आउनेहरूको भीड लागेको छ । कात्तिक अन्तिम साता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा सपरिवार तातोपानी कुण्डमा डुबेर फर्किए पछि देशभित्र र बाहिर सिङ्गा तातोपानीको चर्चा बढेको छ ।

म्याग्दी जिल्लाका काली, म्याग्दी र रघुगङ्गाको किनाराका धेरै ठाउँमा तातोपानीका कुण्डहरू छन् । जिल्लाका दग्नाम, भुरुङ, मुदी र सिङ्गामा रहेका प्राकृतिक तातोपानी कुण्डहरू पछिल्लो समय प्राकृतिक चिकित्सालयका रुपमा विकास हुँदै गएका छन् ।

सदरमुकाम बेनीबजारबाट ९ किलोमिटर पश्चिम बेनी नपा–४ मा म्याग्दी नदीको किनारमा अवस्थित सिङ्गा–तातोपानीे कुण्ड देशकै प्रशिद्ध तातोपानीको कुण्ड हो । कुल ४१ फिट लम्बाइ र २१ फिट चौडाइमा फैलिएको यस कुण्डमा एकैसाथ ४ सय जनाले स्नान गर्न, डुबेर उपचार गर्न वा आनन्द लिन सक्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

यो तातोपानी कुण्डको तापक्रम पोखरीमा ४५–४८ डिग्री सेल्सियस र मूलमा ५४–५७ डिग्री सेल्सियस रहेको छ । यो कुण्डमा रोगीको अवस्था हेरेर हप्ता दिनदेखि दुई हप्तासम्म नुहाउने गरिन्छ ।

यो कुण्डमा स्नान गर्न सजिलो होस् भनेर वरिपरि पर्खालले घेरेर पोखरी बनाइएको छ । तातोपानी कुण्डमा विसं २०४२ सालभन्दा पहिले आजभोलिको जस्तो सुविधा थिएन । होटल, लजको व्यवस्था नभएको हुनाले ओडारमा बस्नु पर्दथ्यो । स्थायी स्नान कुण्डको व्यवस्था नभएको हुनाले माघ, फागुन र चैत महिनामा मात्र कुण्डमा डुब्न आउने मानिसको भीड हुन्थ्यो । यातायातको अभावले टाढाटाढाबाट मानिसहरू आउन सक्दैनथे ।

तातोपानी कुण्डको महत्व बढाउन र यसको संरक्षण गर्न विसं २०४५ सालमा प्रबुद्धकुमार शाक्यको अध्यक्षतामा ‘तातोपानी कुण्ड भौतिक सुधार तथा व्यवस्थापन समिति’ गठन भएपछि यो कुण्ड व्यवस्थित तरीकाले सञ्चालन हुँदै आएको स्थानीय विक्रम बुढाथोकीले जानकारी बताए ।

रघुगंगा तातोपानी कुण्ड
रघुगङ्गा गाउँपालिका–५ को दर्मिजा भन्ने गाउँको पुछारमा रघुगङ्गाको किनारमा एक तातोपानीको कुण्ड छ । यो कुण्डलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दाले विभिन्न किसिमका पूर्वाधारको विकास गरिरहेका छन् । यो कुण्डमा स्नान गर्न कुइनेमङ्गले, चिमखोला, झिं, दग्नाम, दोवा, पाखापानी, पात्लेखेत, बेग, राखु पिप्ले र भगवतीका बासिन्दा आउने गर्दछन् । यहाँ माघ महिनादेखि असार महिनाको पहिलो हप्तासम्म स्नान गर्न सकिन्छ ।


भुरुङ–तातोपानी कुण्ड 

अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ तातोपानी भन्ने ठाउँमा कालीगण्डकीको किनारमा तातोपानीको कुण्ड छ । यसलाई तप्तकुण्ड भनिन्छ । यसको आसपासमा पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरूले आफूलाई पायक पर्ने मुहानमा नुहाउने चलन छ । यद्यपि तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । यो कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ ।

मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानीको तप्तकुण्डको विशेष चर्चा गरिन्छ । मुक्तिनाथ जाने तीर्थ यात्री र मुस्ताङको भ्रमणमा आउने पर्यटकहरूले यो तातोपानीको भरपूर उपयोग गर्ने हुनाले यसको महिमा बढेको हो भन्ने कुरामा कुनै द्विविधा छैन ।

मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरू प्रशस्त मात्रामा आउने गर्दछन् ।

मुदीको (फल्तीखेत) तातोपानी कुण्ड
म्याग्दी जिल्लाको उत्तर–पश्चिममा पर्ने धवलागिरि गाउँपालिका–३ मुदीको बगर भन्ने ठाउँमा म्याग्दीखोलाको किनारमा तातोपानीको कुण्ड छ । यो कुण्ड व्यवस्थित नभएको हुँदा स्थानीय मानिसले मात्र स्नान गर्दछन् । धवलागिरि हिमाल आरोहणका लागि आउने पर्वतारोहीहरूले पनि यसको उपयोग गर्ने गर्दछन् ।

तातोपानीमा गन्धकको गन्ध र बीरेनूनको विशेष किसिमको स्वाद आउँछ । गन्धक आफैंमा एक प्राकृतिक एन्टियोबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्न दिँदैन । त्यसकारण तातोपानी कुण्डमा स्नान गर्दा एक जनामा भएको रोग अर्कोमा सर्ने सम्भावना नहुने चिकित्सकहरूले बताएका छन् ।

तातोपानीको कुण्डमा डुब्नाले गाँठा–गुठी परेको, सुन्निएको, बाथ रोग, पेट दुख्ने, फुल्ने र डकार आउने जस्ता पेटसम्बन्धी रोग, छालामा आउने विभिन्न चर्मरोग तथा हाड जोर्नी, दुख्ने, सुनिने, नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको ठाउँमा चिसोका कारण दुख्ने रोग निको हुन्छ ।