विप्लवले कब्जा गरेका जमिन बेचे कारवाही

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको जमिन बेच्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

जमिनदारसँग मिलेर बिक्रीवितरण गर्ने र भूमिहीन किसान तथा सुकुमबासीलाई उठीबास गर्ने, व्यक्ति, संघ, संस्था, व्यवसायी, दलाल, भूमाफिया तथा कमिसनखोरमाथि सख्त कारबाही गर्ने चेतावनी दिएको हो ।

नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले सोमबार विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् । कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, चितवन, काठमाडौँलगायत भागमा खोसिएका जमिनहरू जमिनदारसँग मिलोमतो गरी जमिनको बिक्रीवितरण गर्ने प्रक्रियामा दलालहरू लागेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, हर्कतमा लागेका कोही पनि व्यक्तिहरू, सङ्घ संस्थाहरू, व्यवसायी, दलाल, भूमाफिया तथा कमिसनखोरमाथि सख्त कारबाही गरिनेछ ।’

वास्तविक किसान, भूमिहीन तथा गरिबलाई जीविकाका लागि जमिन वितरण गर्ने जनयुद्धको प्रक्रिया अहिले पनि त्यो निरन्तर जारी नेकपाले जनाएको छ ।