राजनीतिक नियुक्ति भएका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्षसहित चारजनाले सामूहिक राजीनामा दिएका छन् । नेपाली काँग्रेसको तर्फबाट क्षेत्रीय खेलकुद विकास समितिमा नियुक्त भएका उपाध्यक्ष तथा सदस्यहरुले पदावधि सकिन केही महिना बाँकी रहदाँ आफनो पदबाट राजीनामा दिएका हुन् ।
२०७२ सालमा कार्यसमितिको रुपमा चारैजना खेलकुद विकास समितिको सपथ लिएका थिए । नयाँ वर्षसँगै कार्यकाल समाप्त हुने छ । यद्यपी प्रादेशिक संरचना तर्फ उन्मुख हुदैं गएको अवस्थाले पनि राजीनामा दिन उपयुक्त भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीन वर्ष अघि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशवकुमार विष्ट नियुक्ति भएपछि जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिमा नयाँ कार्यसमिति नियुक्ति गरिएको थियो ।
तत्कालिन नेपाली काँग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार हुदाँ नेपाली काँग्रेसले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सहित सदस्य दिनुपर्ने अडान राखेको थियो । सोही अनुसार नियुक्ति भएका उनीहरुले परिषदका सदस्य सचिव विष्ट समक्षमा राजीनामा पेश गरेका हुन् ।
‘तत्कालिन समयमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार रहेको अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पदमा नियुक्ति भएका थियौं ।
परिवर्तित राजनीतिक सन्दर्भमा र राज्यको तीन तहको संरचना अनसार समग्र पश्चिमाञ्चल क्षेत्र प्रादेशिक संरचनामा गईसकेको हुदाँ र नेपाली काँग्रेस पार्टी सरकारमा नहरेको परिवर्तित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै समितिले गर्ने कार्यसम्पादन, योजना निर्माण र कार्यान्वयनमा सहजता आओस भन्ने हेतुले हामीले आ–आफनो पदबाट राजीनामा पेश गर्दै स्वीकृतिको लागि यो राजीनामा पेश गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।
बहुमतको सरकार निर्माणसँगै नियुक्ति भएका क्षेत्रीय अध्यक्ष खगराज पौडेल अमेरिका प्रस्थान गरेपछि बाग्लुङबाट क्षेत्रीय सदस्यको रुपमा नियुक्त भएका सम्पन्न श्रेष्ठलाई कार्यबहाकको जिम्मेवारी दिईएको थियो । एक महिना अघि मात्रै युवा तथा खेलकुद मन्त्रालयले रिक्त रहेको अध्यक्ष पदमा श्रेष्ठको सिफारिस गरेपछि परिषदले उनलाई अध्यक्षको जिम्मेवारी दिई पठाएको थियो ।
विज्ञप्तिमा ‘घरायसी र व्यावासयिक जीवनको व्यस्तता रहँदा रहदँै पनि हामीले आफनो बर्कतले भ्याएसम्म समितिले आयोजना गर्ने नियमित बैठक, क्रियाकला र गतिविधिहरुमा सक्रियतापुर्वक उपस्थिति जनायौं ।
खेलकुद क्षेत्रको विकास र समृद्धिको लागि आफनो समय र विचारहरु खर्च गर्ने मौका र प्राप्त गर्यौं । जसले गर्दा हाम्रो खेल क्षेत्रप्रतिको माया र विरश्वास झन प्रगाढ बन्यो ।’ उल्लेख छ ।
source :खेलाडी न्युज–