व्यापार युद्धबाट पछि हटे अमेरिका र चीन

- करवृद्धिका कारण पछिल्लो समय व्यापार युद्धको खतरा बढेको थियो

संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ ।

विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो ।

२ राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागि आएका करमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन । दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोज पश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनीया सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ ।

ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ । यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीया राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको ब्युनस आयर्समा छन् ।

सम्झौता बमोजिम अर्को वर्षको शुरुबाटै चिनीया सामानमा हाल लागिआएको १० प्रतिशत करलाई २५ प्रतिशत पु¥याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ । तैपनि, यो आंशिक सम्बोधन मात्र हो ।

झण्डै ५० अर्ब डलर बराबरका चिनीया सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ । साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब २ सय अर्ब डलर बराबरका चिनीया सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिएका थिए ।

यहीबीच, चीनले करिब १ सय १० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ ।

चीनमा रहेका व्यापारिक अवरोध, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाई आएको अमेरिकी आरोप छ ।

यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीन विरुद्ध थप दण्डात्मक कार्यबाही गरिने अमेरिकाले चेतावनी दिइआएको छ ।