पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’ को तयारी पूरा भएको छ । मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्स्पो आयोजना गरिएको हो ।
आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म हुने एक्सपो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने छन् । एक्सपोको तयारीका सबै काम सकिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले बताए ।
‘हामीले एक्सपोको सबैजसो तयारी सकेका छौं । प्रदर्शनी केन्द्रमा रहने करिब ३ सय वटा स्टल बुकिङ भइसकेका छन्,’ उनले भने, ‘एक्स्पोलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनौं ।’
मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय विस्तारको सम्भावनाको खोजीमा पनि एक्स्पो समर्पित रहेको आयोजकले जनाएको छ ।
यो पटक एक्स्पोमा पोखरा औद्योगिक क्षेत्रका २० वटा उद्योगले उत्पादनबारे जानकारी दिन स्टल राख्दै छन् भने नेपाल पर्यटन बोर्ड एवं पोखरा पर्यटन परिषद र सहस्राब्दी पर्यटन विकास समितिको समन्वयमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विशेष स्टल रहनेछन् ।
‘पोखरालाई पर्यटनको मुख्य हब र पोखरा वरपरको क्षेत्रलाई सब हब बनाउँदै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पनि हामीले यी स्टल राखेका हौं’, संघका महासचिव अर्जुन पोखरेलले भने, ‘एक्सपोलाई आफ्नो उदेश्य अनुरुपको बनाउने काममा आयोजकबाट कुनै कमी हुन दिने छैनौं ।’
एक्स्पोमा रहने मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाका उत्पादन र रेस्टुरेन्टले पनि सहभागीलाई थप सुविधा दिने उनले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाका एक्स्पोमा जोडिएका विभिन्न ब्रान्ड तथा औद्योगिक घरानाको प्रदर्शनीले उद्यमशीलता वृद्धिको लागि थप टेवा दिने बताए । यसैगरी एक्स्पोमा रहने मोबाइल मेलामा हुने एक्सचेन्ज अफर, नयाँ ब्रान्डका मोबाइलको उपलब्धताले पनि एक्स्पोमा रौनकता थप्ने उनले जनाए ।
मोवाइल बिक्रेता संघ पोखराका अध्यक्ष शिवराज पहारीले आफ्नो मोवाइल साट्न चाहनेलाई चल्ने गरेको मोबाइलसहित आधिकारिक कागजपत्र लिएर आउन आग्रह गरे ।
लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त ब्यान्डहरूको सांगीतिक कार्यक्रम, लोकनृत्य, रत्यौली, विद्यालय स्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोपोन्मुख सांस्कृतिक झाँकी र नाचसहित हास्यव्यंग्य कार्यक्रम एवं प्रवेश टिकटमा दैनिक पुरस्कारको व्यवस्था गरिएको छ