नयाँ शक्तिका नारायणहरि नेकपामा

- नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०७२ मा नयाँशक्तिमा प्रवेश गरेका थिए

नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य नारायणहरि तिवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १(क) का उम्मेद्वारसमेत रहेका तिवारी शनिबार नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेकपा जिल्ला संयन्त्र कास्कीका सदस्य बखानसिंह गुरुङले पार्टीमा स्वागत गरे ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०७२ मा नयाँशक्तिमा प्रवेश गरेका थिए ।

नेकपा नेता बखानसिंह गुरुङ ‘आभाष’ले समृद्धिको यात्रामा सहयात्रा गर्न आएका तिवारीलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले जनताको मुक्ति र समृद्धिको सपना नेकपाले मात्र पूरा गर्न सक्ने जिकिर गरे ।

तिवारीले नयाँशक्ति विलयको बाटोमा गएकाले जनताको आशा भरोसाको केन्द्र नेकपामा प्रवेश गरेको तर्क गरे।