मातृ शिशु अस्पतालमा कोमागाने मितेरी कक्ष

पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरी कक्ष स्थापना भएको छ । जापानको कोमागाने सहरको नाममा कोमागाने मितेरी कक्ष स्थापना गरिएको हो ।

कोगमागाने र जापानका बारेमा अध्ययन गर्न सकिने गरी स्थापना गरिएको कक्ष सोमबार गण्डकी प्रदेशका सांसद कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र सिटिजन एसोसियसन फर नेपाल एक्सचेन्ज कोमागानका अध्यक्ष कोमा सुभाराले संयुक्त रुपमा उद्घाटन गरे ।

कोमागानेले पोखरालाई मातृ शिशु मितेरी अस्पताल निर्माण, स्वास्थ्य उपकरण र स्वास्थ्य कार्यक्रमका लागि ७ करोड रुपैयाँ सहयोग गरेको छ

सांसद थापाले पोखराले पहिलो पटक अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध स्थापना गरेको जापानको कोमागाने सहरसँगको सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले पोखरा र कोमागानेको सम्बन्धलाई जीवन्त बनाउन कोमागानेमा पोखराले मितेरी चौतारी निर्माण गर्नुपर्ने जोड दिए ।

पोखरा महागनरका उपप्रमुख मञ्जुदेवी गुरुङले मितेरी सम्बन्धलाई बलियो र आत्मीय बनाउन महागनर तयार रहेको बताइन् । कार्यक्रममा सिटिजन एसोसियसन फर नेपाल एक्सचेन्ज कोमागानको अध्यक्ष कोमा सुभाराले पोखरा र कोमागानेबीचको सम्बन्धले दुई सहरका जनता बीचको सम्बन्ध सुमधुर बनेको बताए ।

पोखरा वडा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवाल, अस्पतालका सुपरिन्टेण्डेन्ट प्रेमराज पंगेनी, पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल, अस्पतालका डा रामचन्द्र बास्तोला, पोखरा कोमागाने नागरिक मैत्री एशोसियशनका अध्यक्ष शारदा मोहन काफ्ले लगायलते पोखरा र कोमागाने सहरका बारेमा चर्चा गरेका थिए ।

पोखरा कोमाने मितेरी सम्बन्ध स्थापना भएको १८ वर्ष पुगेको छ । कोमागानेले पोखरालाई मातृ शिशु मितेरी अस्पताल निर्माण, स्वास्थ्य उपकरण र स्वास्थ्य कार्यक्रमका लागि ७ करोड रुपैयाँ सहयोग गरेको पोखरा कोमागाने नागरिक मैत्री एसोसियसनका सचिव महेन्द्रबहादुर गोदारले जानकारी दिए ।

कोमागानेबाट आएको १२ सदस्यीय टोलीलाई पोखरा महागनरमा स्वागत गर्दै पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीले जापानको कोमागाने र पोखराका जनताबीचको सम्बन्ध दाजुभाइ र दिदिबहिनीको जस्तो भएको बताए ।