
उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित अधिकांश विद्यालय चिसो छल्न बेंसी झरेका छन् ।
वर्षेनी हिउँदयाममा उपल्लो मुस्ताङका विद्यालयले पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गर्दै आइरहेका छन् । यस वर्ष पनि साबिकका घुम्ती विद्यालयले विद्यार्थी पोखरा झारेका हुन् ।
लोमान्थाङका दिब्यदीप मावि छोसेरसहित १० आधारभूत सामूदायिक विद्यालय बेंसी झारिएको छ । पालनाम्ग्याल , मञ्जुश्री, निफुक नाम्डोल नर्बुलिङ र महाकरुणा शाक्यापा गुम्बा विद्यालय तथा लोमान्थाङ बजारमा सञ्चालित २ निजी विद्यालय आमजी र ग्रेड कम्पासन विद्यालय पनि २ साता अघि नै पोखरा झरेको श्रोत व्यक्ति गोविगन्द श्रेष्ठले जानकारी दिए ।
लोघेकर दामोदरकुण्डका ८ सामूदायिक आधारभूत विद्यालय मध्ये ६ वटा विद्यालय पनि पोखरा झरेका हुन् । यस वर्षदेखि घुम्ती कक्षा सुरु गर्ने भनिएको घमी आधारभूत विद्यालय घमी र जनज्योति आधारभूत विद्यालय घिलिङले तयारी गरेका छन् ।
लोघेकरका चराङ धार्केलिङ सेन्तुप र चराङ लोक्क्षयो गुम्बा विद्यालय पनि पोखरा झरेको श्रोत व्यक्ति श्रेष्ठले बताए । मध्यमुस्ताङको वारागुङ मूक्तिक्षेत्रका २ विद्यालय जननर्मल आधारभूत विद्यालय छुसाङ र मूक्तिनमुना आधारभूत विद्यालय झारकोटसमेत पोखरा सरेको श्रेष्ठले बताए ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिकामा १० सामुदायिक विद्यालयमा कूल १ सय ४४ विद्यार्थी छन् ।
जसमा आधारभूत तहमा १ सय २४ र माध्यमिक तहमा २० जना विद्यार्थी छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८ विद्यालयको आधारभूत तहमा कुल १ सय १८ विद्यार्थी छन् भने बालविकास केन्द्रमा ४४ विद्यार्थी छन् । वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाको २ विद्यालयका ७३ विद्यार्थी छन् ।
मुस्ताङका कूल ५६ विद्यालयमध्ये २६ विद्यालय घुम्ती कक्षाका लागि बेंसी झरेतापनि अन्य ३० विद्यालय भने मंसिरको अन्तिम साता चालु शैक्षिक सत्र सकेर बिदा दिने गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मतिलाल चपाईंले जानकारी दिए । घुम्ती विद्यालयले ५ महिनासम्म पोखरामा राखेर पठनपाठन गर्ने चपाईंले बताए । बेंसी झरेका वैशाखको पहिलो साता मात्र फर्कने बताए ।
पोखराको पृथ्वीचोक, लेकसाइड, हेमजा, लेखनाथ र बिरौटा लगायतका स्थानमा घुम्ती विद्यालय सञ्चालन हुनेछन् । उपल्लो मुस्ताङमा अहिले तापक्रम माइनस ७ डिग्री पुगिसकेको छ ।