![](https://nepaldut.com/wp-content/uploads/2018/10/flower.jpg)
फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन । यस वर्षको तिहारमा करिब ३ लाख विभिन्न जातका माला भारतबाट आयात हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले तिहारलाई माला अपुग हुने देखिएकाले यसवर्ष झण्डै ११ करोडको ४५ जातका ३ लाख सयपत्रीका माला र फूल आयात गर्न लागिएको बताए । भाइटीकामा काठमाडौंलाई मात्र रू १५ देखि १७ लाखको माला आवश्यक पर्छ । राजधानीमा झण्डै ५० लाख मानिस बस्छन् ।
विश्वमा फूलको कारोबार २ सय अर्ब डलरको छ । जसमध्ये ८० अर्बको कारोबार नेदरल्यान्डस् एक्लैले गर्छ ।
तिहारमा अत्यधिक फूल खपत हुने भएकाले नेपालमा किसानले फूललाई मौसमी खेतीको रुपमा मात्र लिदै आएका छन् तर मौसमी खेती पर्याप्त हुन नसक्दा फूलको आयात घट्न सकेको छैन । व्यावसायिक फूल खेती गर्न नेपाली किसान आर्कषित हुन सकेका छैनन् । सयपत्री र मखमली फूलको तिहारमा विशेष महत्व हुन्छ । दुवै जातका फूल खेतीका लागि उर्वर भूमिको अवश्यकता पर्दैन ।
पुष्प व्यवसाय मौसममा निर्भर भए पनि यसबाट पर्याप्त आम्दानी लिन सकिने भएकाले खेतबारीका आली, कान्लो खेर गइरेका जमीन भरपुर प्रयोग गर्न सकिन्छ तर किसान भने एकोहोरो परम्परागत खेतीतर्फ नै केन्द्रीकृत भएको पाइन्छ । फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणि पोखरेल फूल बिक्रीबाट जीवन चलाउनमात्र होइन, मनग्यै आम्दानी लिन सकिने धारणा विकास किसानमा नभएसम्म फूलको आयात प्रतिस्थापन हुन नसक्ने औंल्याउछन् ।
नेपालमा पुष्पखेती १ सय ५५ हेक्टर क्षेत्रफलमा गरिएको छ । नेपालमा २०११ सालदेखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा पुष्प खेती सुरु भएको फूल व्यवसाय आव २०७४÷०७५ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भइसकेको छ । करिब सात फूल व्यवसायी सक्रिय छन् भने ४३ हजार ५ सय व्यक्ति यस व्यवसायमा आश्रित छन् । आव ०७४÷०७५ मा १ अर्ब ८७ करोड बराबरको फूलको कारोवार भएको थियो भने रु ११ करोडको फूल आयात भएको थियो ।
तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुन्छन् । सबैभन्दा सयपत्रीको १३ लाख, मखमली ३ लाख र गोदावरीका १ लाख माला बिक्छन् । जसमा लगभग ३० प्रतिशत भारतबाट आयात हुने गरेको बताइन्छ । नेपाल प्रशस्त जैविक विविधता भएको भूमि हो । यहाँ स्थानपिच्छे थरीथरी र आर्कषक फूलखेती गर्न सकिन्छ तर आयात गर्न हामी बाध्य छौँ ।
तिहारका ३ दिन राजधानीमा फूल, माला, र गमला गरी झण्डै १६ करोडको कारोवार हुन्छ । राजधानीमा भक्तपुरको गुण्डु, काठमाडौँको इचङ्कुनारायण, थानकोट, साँखु, ककनी, धार्दिङ, नुवाकोट, काभ्रेबाट फूल भित्रने गर्छ । प्रचूर सम्भावना बोकेको पुष्प व्यवसाय प्रवद्र्धन गर्न सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी कार्यान्वयनमा ल्याएको छ ।
आव ०७१÷०७२ बाट पुष्प व्यवसायका लागि १ करोड बजेट विनियोजन गरिएकामा यो वर्ष प्रदेश सरकार, प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुष्प विकास केन्द्रको विकासका लागि जम्मा १६ लाख विनियोजन गरेको छ ।
बजारमा फूलको माग बढेकाले आवश्यकता अनुसार उत्पादन दिन सकिएको छैन । नेदरल्यान्डस्, हल्यान्ड, थाइल्याड, अमेरिका लगायत देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायत नेपाली कट फ्लावरको माग दैनिक बढे पनि नेपालबाट निर्यात भने हुन नसकेको बताइन्छ ।
सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगे पनि फूलको उत्पादन सन्तोषजनक छैन । बिक्रीका लागि फूलको बजार छ, उत्पादन छैन । झण्डै ५ अर्ब लगानी रहेको पुष्प व्यवसायमा मानिसको आर्कषण भने क्रमशः बढ्दो छ । विश्वमा फूलको कारोबार २ सय अर्ब डलरको छ । जसमध्ये ८० अर्बको कारोबार नेदरल्यान्डस् एक्लैले गर्छ ।