राधिका कँडेलको नेतृत्वमा सञ्चारिका समूह गण्डकी

पत्रकार महिलाहरुको संस्था सञ्चारिक समूहको गण्डकी गण्डकी प्रदेश अध्यक्षमा राधिका कँडेल निर्वाचित भएकी छन् । समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको हो ।

अध्यक्षमा कँडेल राष्ट्रिय समाचार समितिमा फोटो पत्रकार छिन् । २ दशकदेखि पत्रकारितामा क्रियाशील राधिका नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्यसमेत हुन् । उनले अहिले पत्रकार महिलाहरुले भोग्नुपरेका चुनौतीहरु पहिचान गरी ती चुनौती सामना गर्न सबैको साथमा प्रयत्न गरिने बताइन् । ‘अहिले पत्रकारितामा नयाँ नयाँ चुनौती देखिएका छन्, यसै पनि पत्रकार महिलाका अनेक चुनौती छन्,’ उनले भनिन्, ‘समस्याहरु सुल्झाउँदै व्यावसायिक, दक्ष र सशक्त पत्रकार बनाउन सबैसँग सहकार्य गछौँ ।’

संस्थाको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिव उमा आलेमगर, सचिव चन्द्रिका घिमिरे -अनिता) र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) चुनिए । सदस्यमा शोभा नेपाल, रिना थापा -तानीं, कृष्ण श्रेष्ठ -रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ छन् l

कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारीले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्ने विचार राखिन् । गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रकार महिलाको सशक्तीकरण र विकासका लागि कार्यालय सघाउन तयार रहेको जनाइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष वशन्ती बास्तोला लगायतले बोलेका थिए ।