गण्डकीका पत्रकारलाई लेखनवृत्ति

गण्डकी प्रदेशमा सक्रिय पत्रकारहरूलाई लक्षित गर्दै प्रेस रजिष्ट्रारको कार्यालयले लेखनवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ। खोजमूलक, अनुसन्धानमूलक तथा विश्लेषणात्मक सामग्री उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको कार्यालयले जनाएको छ।

प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार लेखनवृत्ति वितरणका लागि आवश्यक कार्यविधि तयार पारिएको छ र इच्छुक पत्रकारहरूबाट आवेदन माग गर्दै १५ दिने सूचना प्रकाशन भइसकेको छ। कार्यक्रममा सहभागी हुन प्रदेशभित्रका सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुपर्नेछ भने कम्तीमा तीन वर्षदेखि सक्रिय स्वतन्त्र पत्रकारले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत वार्षिक विकास कार्यक्रम तथा ‘पत्रकार लेखनवृत्ति कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२’ अनुरूप यो कार्यक्रम सञ्चालन हुने जनाइएको छ। छापा, रेडियो, टेलिभिजन, अनलाइन तथा फोटो पत्रकारितामा संलग्न पत्रकारहरूलाई कार्यक्रममा समेटिनेछ।

आवेदन दिन इच्छुक पत्रकारले कार्यविधिअनुसार निवेदन, अनुभव र कार्यक्षेत्र खुल्ने विवरण, प्रस्तावित विषयमा ३०० शब्दभित्रको अवधारणा, पत्रकार परिचयपत्रको प्रतिलिपि, स्वतन्त्र पत्रकारका लागि तीन वर्षको अनुभव प्रमाण, साथै नागरिकता र स्थायी लेखा नम्बर (प्यान) को प्रतिलिपि पेश गर्नुपर्नेछ।

छनोट प्रक्रियापछि योग्य ठहरिएका पत्रकारहरूले तोकिएको समयसीमाभित्र खोजमूलक सामग्री तयार गरी प्रकाशन वा प्रसारण गर्नुपर्नेछ। कार्यक्रमअन्तर्गत छनोट हुने प्रत्येक पत्रकारलाई अधिकतम २५ हजार रुपैयाँसम्म लेखनवृत्ति उपलब्ध गराइने र छनोट कार्य विज्ञहरूको समितिमार्फत गरिने कार्यालयले जनाएको छ।