राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीमा विचाराधीन सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दामा अदालतको तारेखमा आउन नपर्ने भएको छ ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेले दर्ता गराएको निवेदनमाथि सुनुवाई गर्दै मङ्गलबार उक्त आदेश जारी गरेको हो । लामिछानेले आइतबार अदालतमा …तारेखमा नबस्ने अनुमति पाऊँÚ भनी निवेदन दर्ता गराएका थिए । यसअघि लामिछानेलाई हरेक महिनामा कम्तीमा एक पटक अदालतमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।
अदालतका सूचना अधिकारी रामबहादुर किसानले अब लामिछानेले हरेक महिना तारिखमा जिल्ला अदालत कास्की आउन नपर्ने जानकारी दिए । æआज आदेश आएको छ । अब उहाँलाई अदालतले खोजेका बखत उपस्थित हुनेछु भन्ने प्रतिबद्धता कागज गराइन्छ,Æ किसानले भन्नुभयो, æकागज गरेपछि उहाँ आइराख्नुपर्दैन, मुद्दा भने चलिरहन्छ । उहाँको तारिख टुटेको छ ।Æ
लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा विचाराधीन छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित ६३ जनाविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्धा दायर भएको थियो ।
जिल्ला अदालत कास्कीले लामिछानेलाई गएको २०८१ पुस २५ गते ६५ लाख धरौटीमा छाडेको थियो । लामिछाने गोरखा मिडियाका पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुन् । उनीलगायतका विरुद्ध सूर्यदर्शनको रकम गोरखा मिडियामा लगी अपचलन गरेको अभियोग छ ।




