पार्टीहरूले खिया लागेकाे इन्जिन फेर्नुपर्छ

यस पटककाे प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा रास्वपाले भारी बहुमत प्राप्त गरी एकमना सरकार चलाउने अवसर पायाे । ठूला दलहरू नेका, एमाले, नेकपा सबैकाे शर्मनाक हार भयाे । अहिलेसम्म संसदमा उपस्थिति जनाएका राप्रपा, मजदुर किसान पार्टी, जनमाेर्चा र मधेशवादी दलहरूकाे संसदमा उपस्थिति शून्य रह्याे । यसलाई संसदीय अभ्यासकाे ठूलै उथलपुथल मान्नुपर्छ ।

रास्वपा लामाे इतिहास बाेकेकाे दल हाेइन । यसकाे नेतृत्व गर्ने बालेन र रवि विवादकाे घेरामा तानिएका व्यक्ति हुन् । तर तिनीहरूलाई जनताले भारी मत दिए । याे वास्तवमा तिनीहरूकाे काम र व्यक्तित्वकाे कारणले भएकाे विजय हाेइन । रास्वपा वर्तमान राजनीतिकाे उपयुक्त विकल्प पनि हाेइन । तर यही दलले जनताको भारी मत कसरी पायो ? यसकाे कारण पुराना दलको कार्यप्रतिकाे विद्रोह हाे । यस विद्रोहका सहभागी जनता मात्र हाेइनन् , दलकै कार्यकर्ता पनि हुन् ।

याे तथ्य स्वयं दलकाे नेतृत्वले ओकलिरहेछ । एमालेले पार्टीको सदस्य सङ्ख्याभन्दा समानुपातिक मत कम आयाे भनी कार्यकर्तामाथि दाेष थाेपरिरहेछ । प्रचण्डले घण्टीमा भाेट हाल्ने कार्यकर्तालाई कारवाही गर्ने धम्की दिएका छन् । नेका नेतृत्व अन्तरघात भयाे भन्दैछ । आखिर यस्तो अप्रिय परिस्थिति के कारणले उत्पन्न भयाे त ? दलहरूले यसकाे यथार्थ समीक्षा गर्नु पर्ने हाे । तर त्यस्तो समीक्षाको लक्षण देखिन्न । परिणामकाे जिम्मेवार तल्लो पङ्तिमा थाेपरेर उम्कन मिल्दैन । याे त दाेष अरूमा पन्छाएर आफूलाई चाेखाे देखाउने व्यक्तिवादी प्रवृत्ति हाे । समस्या पार्टीहरूकाे माथिल्लो तहमा नै छ ।

गणतन्त्र आएदेखि सत्तामा काङ्ग्रेस र कम्युनिस्ट पार्टी नेतृत्व नै हावी भएको छ । काङ्ग्रेसले भन्दा अझ कम्युनिस्टहरूले बढी माैका पाएका हुन् । तर कुनै नेतृत्वले पनि जनताका समस्याप्रति ध्यानदिएनन् । बर्षेनि युवा जगत राेजीराेटीका लागि विदेशिएकाे छ । गाउँ घर उजाड बनेका छन् । भ्रष्टाचार नियन्त्रण हुनुकाे साटाे माैलाउँदै गएकाे छ । एउटा दल सत्तामा आउँदा कारवाही अघि बढाएझैँ गर्छ,तर अन्तिम टूङ्गाेमा पुग्न सक्दैन । सबै दलका नेतालाई बिचाैलियाले चलाएकाे देखिन्छ । ठूला माछा कहिल्यै जालमा पर्दैनन् । अनेक काण्डहरू फगत एकले अर्कालाई हाउगुजी देखाउने साधन मात्र बन्छन् ।

देशको राष्ट्रिय अर्थतन्त्र चाैपट बनेकाे छ । भन्दा समाजवाद भन्ने तर एमसिसि जस्ता परियोजना देशमा हुली साम्राज्यवादकाे अखडा बनाइएकाे छ। उदारवादकाे फेराे सबैले समाएका छन्। निर्वाचनमा पराजय भाेग्नाका कारण यिनै हुन् ।

पुराना पछारिएका दलका नेताहरूले धुलाे टक्टक्याएर उठ्ने कुरा त गरेका छन् । भनाइ राम्रै हाे । तर टक्टक्याउने कसरी हाे ? सुझाव लिनुहुन्छ भने पार्टीलाई ओभरह्वेलिङ गर्न जरुरी छ । पार्टीकाे खिया लागेकाे इन्जिन फेर्नु पर्छ । अन्यथा इतिहासले कठै भन्ने छैन !