नेकपा -एमाले)का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापा -बादल)ले अहिलेको सरकार बारबरा फाउन्डेसन, विदेशी शक्तिकेन्द्रहरुको योजनामा बनेको आरोप लगाएका छन् । एमाले कास्कीले बुधबार आयोजना गरेको जिल्ला भेलामा उनले भने, ‘अहिले कठपुतली सरकार बनेको छ । उनीहरुले नेपालीमा रहेको असन्तुष्टि उपयोग गरी तख्तापलट गरे ।’
उनले अमेरिकी शक्तिहरु फेरि खम्पा विद्रोह गराउने र तिब्बतलाई स्वतन्त्र बनाउने लक्ष्यका साथ केही व्यक्तिलाई लिएर आएको जिकिर गरे । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रगतिशील, लोकतान्त्रिक तथा देशभक्त शक्तिलाई एकजुट हुनुपर्नेमा उनको जोड छ । थापा भन्छन्, ‘अहिले दलहरु क्षतविक्षत छन् । नयाँ कार्यदिशासहित नयाँ पार्टी बनाउनुपर्छ ।’
केही दिनअघि सदनमा जेनजी विद्रोह योजनाबद्ध भएको र यो चुनावमा अल्गोरिदमले कुनै शक्तिलाई जिताएको बताएपछि आलोचित भएका थिए । उनले वैशाख ३ गते देशभरबाट घेरा लाग्ने उद्घोष गरे । उनले भने, ‘अहिले कम्युनिस्ट आन्दोलनका प्रमुख नेतालाई कैद गरेका छन् । सिध्याउन चाहन्छन् र अधिनायकतावाद लाद्न चाहन्छन् ।’
आन्दोलनको लक्ष्य र उद्देश्य पार्टी अध्यक्ष ओलीलाई मुक्त गर्ने भएको जनाउँदै उनले सबै लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई समेटेर लोकतान्त्रिक सहयात्री दलका नेता लेखकलाई समेत रिहा गर्ने जनाए । पार्टीको विशेष महाधिवेशनको माग राख्दै गरेको हस्तास्क्षर अभियान प्रति संकेत गर्दै उनले पार्टी भित्र विचार र मत राख्न सुझाव दिए ।
सदनमा पार्टीको लाइन अनुसार बोलेको जानकारी दिँदै कार्यवहाक अध्यक्ष थापाले संसदीय दल नेताको हैसियतमा संसदमा गरेको सम्बोधनले पार्टीभित्र तथा पार्टी वाहिरका अवसरवादीमाथि प्रहार गरेको टिप्पणी गरे । उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई क्रान्ति नभई प्रतिक्रान्तिको संज्ञा दिए ।
कार्यक्रममाएमाले केन्द्रीय सचिव खगराज अधिकारीले विगतका कमी, कमजोरीलाई सच्याउने प्रतिबद्धता जनाउँदै उनले आगामी दिनमा काम व्यवहार र कार्यशैलीलाई सुधार गर्ने जनाए ।
तत्कालीन नेकपा -माओवादी) विद्रोहमा सामेल बादल एमाले र माओवादी -केन्द्र) बिच भएको एकीकरणपछि बनेको नेकपाका महासचिव थिए । सर्वाेच्चको परमादेशले दुवै पार्टीलाई छुट्याइदिएपछि बादल एमालेमै बसेका थिए । यसपालि समानुपातिकबाट सांसद बनेका बादल पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका छन् ।




