चुरुङ्गामा चैते दसैंमा भजन प्रतियोगिता हुँदै

पोखरा महानगरपालिका वडा नं. १९ चुरुङ्गामा चैते दशैंको अवसरमा जिल्ला स्तरीय भजन गायन प्रतियोगिता हुने छ । चुरुङ्गामा रहेको प्राचीन दुर्गा मन्दिर तथा गौरीशंकर ब्रह्मविद्यापीठको प्राङ्गणमा पुनर्निर्माण गरिएको दुर्गा पाञ्चायन मन्दिरको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रतियोगिता हुन लागेको हो ।

मन्दिरका कार्यबाहक अध्यक्ष शंकर गौतमले प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिए । यही चैत ११ गते आयोजना हुने यस प्रतियोगितामा कास्की र जिल्ला बाहिरका गरी करिब १५ टोलीले सहभागिता जनाउने छन् ।

कार्यक्रम संयोजक सन्दीप केसीले कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न संघ संस्था, आमा समूह र धार्मिक संस्थाहरुसँग सहकार्य भइरहेको बताए । …पत्राचारदेखि आन्तरिक व्यवस्थापनका कार्यहरु अहिले धमाधम भइरहेका छन्,Ú केसीले भने । प्रतियोगितामा राष्ट्रिय लोक भजन चुड्का संरक्षण अभियान कास्कीको विशेष प्रस्तुति रहनेछ ।

महेश गुरुकुल देवघाटका प्राचार्य फणीन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा हुने यस कार्यक्रमले स्थानीय स्तरमा धार्मिक र सांस्कृतिक जागरण ल्याउने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा विभिन्न धार्मिक व्यक्तित्वको सहभागिता रहने आयोजकले जनाएको छ । १००८ स्वामी रमानन्द गिरी महाराज संरक्षक रहेको यस मन्दिरमा वडा दसैं, चैते दसैं जस्ता पर्वमा भक्तजनको भीड लाग्ने गर्दछ ।

मन्दिर पुनर्निर्माण समिति सचिव विकास गौतमले कार्यक्रममा विभिन्न धार्मिक संघ, संस्थाको समेत ऐक्यबद्धता र सहभागिता रहने बताए । करिब सय वर्ष पुरानो सो मन्दिर केही वर्षअघि २ करोड ५० लाख लागतमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माणपछि मन्दिरलाई थप व्यवस्थित र आकर्षक बनाइएको छ ।

मन्दिर सञ्चालनका लागि गत वर्ष महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ व्यवस्थापन समितिका महासचिवसमेत रहेका विकास गौतमले महायज्ञबाट १ करोड १६ लाख रुपैयाँ संकलन भएको सुनाए । सो रकमबाट खर्च कटाएर बाँकी रहेको ६१ लाख रुपैयाँ मन्दिरको कोषमा राखिएको छ ।