पहिले रुकम, पछि कास्कीबाट नागरिकता लिने हीराधन पक्राउ

जिल्ला प्रशासन कार्यालय कास्कीले गलत विवरण पेश गरी दोहोरो नेपाली नागरिकता लिएको आरोपमा १ जना नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ।

साविक रुकुम जिल्लाको कोल गाउँ विकास समिति वडा नम्बर १ घर भएका हीराधन पुनलाई दोहोरो थप अनुसन्धानका लागि प्रशासन जिल्ला प्रहरी कार्यालय कास्की पठाएको हो । पुनले यसअघि जिल्ला प्रशासन कार्यालय रुकुमबाट २०४७ फागुन २९ गते नागरिकता लिएकोमा ४ वर्षपछि फेरि जिल्ला प्रशासन कार्यालय कास्कीबाट अर्को नागरिकता लिएका थिए ।

उनले २०५८ साल वैशाख २० गते कास्की प्रशासनबाट दोस्रो पटक नागरिकता लिएका थिए । कास्कीबाट नागरिकता लिँदा पुनले आफ्नो वास्तविक नाम, थर, जन्ममिति, जन्मस्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण ढाँटेका थिए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालकाले यो विषयमा थप छानबिन गर्नुपर्ने भएकाले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाइएको जानकारी दिए ।