प्रधानमन्त्रीलाई केही प्रश्न

हाम्री सम्माननीय तर मूर्ख प्रधानमन्त्रीज्यूको नाममा !


जाँदाजाँदै गर्न लागेका केहि नियुक्तिलाइ लिएर प्रधानमन्त्रीको आलोचना हुनु एकदम स्वाभाविक छ। तर उहाँसँग सम्बन्धित अरु कुरा पनि छ । चुनाव गराउन सफल हुनु भो, हाम्रो सम्मान छ । तर हिजोको अन्तर्वार्ताका अनुसार कुनै दिन उहाँ बोल्दाबोल्दै एउटो आफ्नै मातहतको आइजिपीले हप्काएको रहेछ उहाँलाइ । एउटा सामान्य आइजिपीले आन्दोलनको रापताप नसकिँदै बनेको शक्तिशालि सरकारको उहाँजस्तो प्रधानमन्त्रीलाइ किन हप्कायो होला भन्ने कुरा सोचनीय छ कि छैन ?

त्यो पनि बालेनले समेत ‘आमा” मान्ने प्रधानमन्त्रीलाइ हप्काउने साहस एउटा सामान्य कर्मचारीलाइ कहाँबाट आयो होला भनेरचाँहि सोच्नुभयो त प्रधानमन्त्री ज्यू ? अनि सचिवहरुले अख्तीयारको डर देखाएर फाइल घुमाउँछन् पनि भन्नुभएछ । होला, पक्कै घुमाए होला केही चोरडाँका सचिवहरुले। तर उनीहरुलाइ त्यो बहाना कसले दियो भन्ने पनि कहिल्यै सोच्नुभएको छ ?

तपाइँले प्रधानमन्त्रीले चाहेमा ५ घण्टामा हो कि ५ दिनमा हो भ्रष्टाचार रोकिन्छ भनेर पोहोरतिर बोलेको कुरा अहिले पनि युट्युबमा भेटीएला । तर फेरी तपाइँ आँफैले अस्तीभर्खर अख्तीयारको डरले एउटा होस्टलसम्म बनाउन सकिन भनेर किन भाषण गरेको त ? बहालवाला प्रधानमन्त्री भएर त्यो जाबो एउटा होस्टल बनाउन पनि किन अख्तीयारसँग डराउनुभएको नि ?

तपाइँ बहालवाला प्रधान्मन्त्रीले त जावो एउटा होस्टल बनाउने आँट गर्नु भएन भने त्यो अवकाश पाउन लागेको आइजिपीले त्यत्रो घटना हुँदा कसरी सम्हाल्यो होला ? के कुनै कर्मचारीले देश र जनताको लागि राम्रो गर्न खोज्दा खोज्दै पनि नियमकानुनको आँफुखुशी व्याख्या गरेर वा उसलाइ गोप्य उजुरी हाल्न लगाएर फँसाउन सक्दैनन् भन्ने कुनै आधार छ र तपाइँसँग ?

के तपाइँलाइ पनि अख्तीयार, अदालत वा मलेपमा काम गर्ने पार्टीको कोटाबाट गएका कर्मचारिहरु भगवान् नै हुन् भन्ने लाग्छ ? त्यत्रो बर्ष वकालत गरेर न्यायाधीश, प्रधान न्यायाधीश अनि प्रधानमन्त्री समेत भएको मान्छेलाइ यति कुरा पनि थाहा नभएको होला त ? यदी कुनै सोझो कर्मचारीले एकदमै राम्रो काम गर्दा गर्दै पनि मलेपलाइ “खुशी” नबनाएकैले उनीहरुले कुनै झिनो प्रक्रियागत त्रुटी देखाएर (जस्तै: बिरालो नबाँधिकन श्राद्ध गरेको) उसलाइ अनियमितता गरेको भनेर मुद्दा लाग्यो र अदालतले त्यसैअनुसार फैसला भयो भने के गर्ने ?

खै उसको अभिभावक यस राज्यमा ? यदी कुनै कर्मचारीसँग मलेप र अख्तीयारका कर्मचारीहरु भ्रष्ट भएको प्रमाण रहेछ भने उसले गोप्य उजुरी दिने ठाउँ कहाँ हो ? तपाइँ प्रधानमन्त्री भएर एउटा होस्टल बनाउन खोज्दा अख्तीयारसँग डराउनुभयो भने जिल्ला जिल्लामा बसेर विकास निर्माणका काम गरिरहेका निमुखा कर्मचारीहरुले कसरी काम गरिरहेका छन् होला ? राम्रा कर्मचारीलाइ अख्तीयार र मलेपले कति दुख दिन्छ होला भनेर कहिल्यै सोच्नुभएको छ ?