उद्यम, व्यवसाय चलाउन योजना निर्माण, अवधारणा तयार, बजारको खोजी, प्रचारप्रसार, जनशक्ति व्यवस्थापन, पुँजीको जोहो, दैनिक प्रशासन सञ्चालन जस्ता अनेक पक्षमा ध्यान दिनुपर्छ । उद्यम वा व्यवसाय स्थापना गर्नुअघि योजनावद्ध काम गर्न र गरिसकेपछि आएका सङ्कट सुल्झाउने निकायहरु छैनन् । त्यसो हुँदा कतिपय उद्यमी, व्यवसायी समस्या झेल्न बाध्य छन् । यसको समाधान गर्ने प्रयास पोखरामा सुरु भएको छ ।
व्यवसायीका समस्याको उपचार खोज्ने उद्देश्यले पोखरामा उद्यम क्लिनिक सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका अन्तर्गत रहेको व्यवसाय प्रवद्र्धन केन्द्रले नेपालमै पहिलो पटक यस्तो क्लिनिक सञ्चालनमा ल्याएको हो ।
पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा शुक्रबार क्लिनिकमार्फत् व्यवसायीका समस्या समाधानको पहलको थालनीसमेत भएको छ । सङ्घका अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीका समस्या समाधानका निम्ति पोखरा रिसर्च सेन्टरसँग पनि सहकार्य भएको बताउनुभयो ।
“पोखरा रिसर्च सेन्टरमा आवद्ध विज्ञहरुले व्यवसायीका समस्या सुन्नेमात्र छैनन्, त्यसको समाधानका निम्ति व्यवहारिक, कानुनी, व्यवस्थापकीय लगायतका सल्लाह दिने छन्,” उहाँले भन्नुभयो । आवश्यक परेको खण्डमा पुँजीको जोहोका निम्ति पहलकदमीका लागि पनि संस्थाले सघाउनेछ ।
“समस्याको निदान गर्ने र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले सुरु गरिएको यो क्लिनिक व्यवसायीको हितमा समर्पित छ,” अध्यक्ष कार्कीले भन्नुभयो, “म व्यवसायीलाई आफ्ना समस्या निर्धक्क सुनाउन, सहयोग लिन र आफ्नो व्यवसाय सफल बनाउन आग्रह गर्दछु ।”
क्लिनिकमा पहिलो दिन तीन जना व्यवसायीले लिखित रुपले नै आफ्ना समस्या राखेका थिए । एक दर्जन व्यवसायीले मौखिक रुपमा आफ्ना समस्या सुनाएका थिए । व्यसायीका समस्याका विभिन्न पक्षबारे पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देश सुजन रेग्मी, अनुसन्धानकर्ता श्रीकृष्णध्वज बस्नेतसहितको टिकले अध्ययन गर्ने छ ।
व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति यो प्रयास सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । “उद्यम, व्यवसाय सुरु गर्नुअघि चाहिने गृहकार्यदेखि स्थापना भएपछि सञ्चालनमा आएका कठिनाइहरु समाधान गर्न पनि सघाउनेछौँ,” उहाँले भन्नुभयो ।




