गोरखामा माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको माइक्रोबस सडकबाट करिब २०० मिटर तल खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस १४ जना तीर्थयात्री मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट तल झरेको थियो ।
१४ जना सवारमध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइतेलाई तनहुँको आँबुखैरेनी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनापछि प्रहरी टोली स्थानीयको सहयोगमा थप उद्धार कार्यमा खटिएको छ । यस दुर्घटनाले स्थानीय बासिन्दा र यात्रुहरूमा शोकको वातावरण सिर्जना गरेको छ ।
मृतकको पहिचान गर्ने र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने प्रक्रिया भइरहेको छ । साथै घाइतेहरूको उपचार जारी रहेको छ भने उनीहरूको अवस्था बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।




